गृहपृष्ठ किन सुस्तायो एमाले-माओवादी एकता ?
किन सुस्तायो एमाले-माओवादी एकता ?
काठमाडाैं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सुस्ताइरहेका बेला दुवै दलका पहिलो र दोस्रो तहका नेताहरूले भेटघाट र छलफललार्इ तीव्रता दिएका छन् । पार्टी एकता प्रक्रिया लम्बिँदै जाँदा दुवै दलका नेताहरूबाट अविश्वास बढाउनेखालका अभिव्यक्ति बाहिरिन थालेसँगै नेताहरूले छलफल बढाएका हुन् ।
मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ भने दोस्रो तहका अन्य नेताहरूले पनि छलफल सघन बनाएका छन् ।

मंगलबार बिहान च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको भेटवार्तामा एमाले नेता नेपालले पार्टी एकता प्रक्रियालार्इ छिटो टुंगोमा पुर्याउन प्रचण्डलार्इ आग्रह गरेका छन् । भेटमा नेता नेपालले अनावश्यक आशंका पालेर बस्नभन्दा सबै कुरा संयोजन समितिमा राख्न सुझाएको बताइएको छ ।
मुख्यतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सत्तारूढ एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका कतिपय गतिविधिले आशंका बढाएको भन्दै माओवादीबाट सरकारमा सहभागी मन्त्री र नेताहरूबाट असन्तुष्टि सार्वजनिक हुने क्रम बढेको छ । असन्तुष्टि बढ्दै जाँदा जेठ पहिलो साता गर्ने भनिएको पार्टी एकता घोषणा लगभग टरेको नेताहरूले बताएका छन् ।
एमाले नेताहरूले माओवादीसँग केही अविश्वास बढेको भए पनि त्यसले एकता प्रक्रियामा कुनै असर नपार्ने बताइरहेका छन् । ‘दुर्इ ठूला पार्टीबीचको एकता प्रक्रिया अघि बढ्दा स्वाभाविक रूपमा केही अन्योल र आशंका देखिन सक्छन्,‘ एक एमाले नेताले भने, ‘तर, त्यसले एकता प्रक्रियामा खासै असर गर्दैन ।‘ यद्यपि, जेठ पहिलो साता निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने अवस्था भने करिब–करिब टरेको उनको भनाइ छ ।
एमालेको गतिविधिसँग माओवादी सशंकित हुने र माओवादी नेताहरूका अभिव्यक्तिसँग एमाले नेताहरू सशंकित हुँदै जाँदा आमकार्यकर्ता र सर्वसाधारणमा अन्योल बढेको छ ।
प्रकाशित समय १५:२५ बजे
















