गृहपृष्ठ राजपा र संघीय समाजवादी फोरमले थाले एकता प्रयास

राजपा र संघीय समाजवादी फोरमले थाले एकता प्रयास

सिके राउत खुल्ला राजनीतिमा आएपछि मधेशको राजनीति तरंगित

मधेशकेन्द्रित राजनीति गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले एकता प्रयास थालेका छन् । एक साताअघि राजधानीको एक होटलमा गोप्य बैठक बसेर दुई दलबीच एकता प्रक्रिया अगाडि बढाउने निर्णय लिइएका जनाईएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपा र सरकारमा रहेको संघीँय फोरमबीचको एकता प्रक्रियालाई चासोका साथ हेरिएको छ । स्वतन्त्र मधेशको नाममा पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले विखण्डनकारी एजेण्डा छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउने निर्णय गरेगतै राजपाले फोरमसँग एकता गर्न पत्राचार गरेको थियो ।

सकारात्मक जवाफ पाएको राजपाले फोरसँग छलफल थालेको हो । राजपाले सघींय फोरमसँग वार्ता गर्न समितिसमेत गठन गरेको छ । राजेन्द्र महतोको संयोजकत्वमा गठित वार्ता समितिमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य छन् ।

उता संघीय फोरमले विचार मिल्ने दलसँग एकता गर्ने भन्दै मंसिरमै वार्ता टोली गठन गरेको थियो । उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वको वार्ता समितिले राजपासँग एकताका विषयमा वार्ता गर्ने संघीँय फोरमले जनाएको छ । संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएको राजपाले सरकारले सोही प्रतिबद्धता पूरा नगरेको भन्दै समर्थन फिर्ता लिएको थियो । यसकारण उसले फोरमसँग एकता गर्न पनि सरकार छाड्नुपर्ने र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाउनुपर्ने शर्त राख्ने तयारी गरेको राजपा स्रोतले बताएको छ ।

विचार मिल्ने र विगतमा मधेश आन्दोलन संगै लडेका दलहरुसँग पार्टी एकता गर्ने राजपाको नीति रहेको राजपाका नेता अध्यक्ष मण्डलका सदस्य तथा वार्ता टोलीका संयोजक महतोले बताए । महतोले न्युज कारोबारसंग भने ‘एकताको प्रक्रिया अहिलेसम्म प्रारम्भिक चरणमै छ, एकताको मोडालिटीको बारेमा छलफल बाँकी छ, राजनीतिक कार्य दिशा, भावी आन्दोलन नीतिलगायतका विषयमा विस्तारै छलफल हुदैँ जाने छ, अहिलेलाई वार्ता समिति मात्रै गठन भएको छ ।’

विचार र ऐजेण्डा मिल्ने दलहरुसँग आफूहरुले एकताको प्रक्रिया सुरु गर्न पहिल्यै वार्ता समिति बनाएकोले वार्ता प्रक्रियाप्रति आफूहरु सकारात्मक रहेको संघीय फोरमका उपाध्यक्ष तथा वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताए । उनले न्युज कारोबारसँग भने ‘कार्यदल बनाएर वार्ता प्रक्रिया अगाडि बढाउने प्रस्ताव हामीले ३ महिनाअघि नै गरेका थियौं, राजपाबाट पनि सकारात्मक जवाफ पाएका छौं । अव ऐजेण्डाका बिषयमा छलफल अघि बढ्छ ।’ औपचारिक रूपमा राजपाले एकताका लागि फोरमसँग केही शर्त नराखेको उनले बताए । केही दिन अगाडि न्युज कारोबारसंगको अन्तरवार्तामा राजपाका अध्यक्ष मण्डलका सदस्य महतोले फोरमले सरकार नछाडेसम्म एकता हुन नसक्ने बताएका थिए । एकताको मोडालिटीका बारेमा छलफल गर्ने दुबै दलले वार्ता टोली बनाएकाले एकता प्रक्रियाले गति लिने आस कार्यकर्तामा छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु