गृहपृष्ठ छोरीका लागि कार्यक्रम आउँदा पुरुष सांसदको किन पेट पोलेको ?
छोरीका लागि कार्यक्रम आउँदा पुरुष सांसदको किन पेट पोलेको ?
‘धनीको कोखमा झन् छोरी असुरक्षित छन्’
फाइल तस्बिर
‘महिलालाई तल पार्ने कयौं प्रथा छन् । देशका अन्य ठाउँमा भन्दा अझै कर्णाली प्रदेशमा महिला पछाडि छन् । तर, कर्णाली सरकारले कर्णालीकै छोरीहरुको भलाइका लागि कार्यक्रम ल्याउँदा पुरुष माननीयको किन पेट पोल्ने ? ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरि’को भन्ने नाराले केही हदसम्म भए पनि कर्णालीका छोरीहरुको आँशु पुछ्न मद्दत गर्छ । त्यसैले यो कार्यक्रम यथावत् राख्नुपर्छ ।’
सांसद मीनासिंह रखालले कर्णाली प्रदेश संसदको १३ गतेको बजेटमाथिको छलफलमा भाग लिँदै यो आक्रोश पोखेकी हुन् । ‘छोरीमाथि किन वर्गीय विभेद ?’ उनले प्रश्न गरिन्, ‘धनीको कोखमा झन् छोरी असुरक्षित छन्, धनी परिवारका भए पनि गरिब परिवारका भए पनि सबै कर्णालीका छोरी हुन् । यो कार्यक्रम यथावत् राखिनुपर्छ ।’
त्यस्तै सांसद वद्मी क्वारीले छोरीका लागि ल्याइएको कार्यक्रममाथि धेरैले व्याख्या गर्नु नपर्ने बताइन् । ‘कर्णालीका कतिपय छोरी कापी कलम किन्ने पैसा नपाएर अशिक्षित भएका छन्,’ उनले भनिन्, ‘यो कार्यक्रमले ती छोरीको सुनौलो भविष्य कोर्नमा सहयोग गर्नेछ ।’
सांसद सुशील थापाले सरकारले सम्भ्रान्तहरुको मुख हेरेर वितरणमुखी बजेट ल्याएको शंका गरे । प्रमुख प्रतिपक्षी दलका नेता दीनबन्धु श्रेष्ठले कर्णाली सरकारले ल्याएको चालू बजेटमा पुनर्विचार गर्न आग्रह गरे । आफ्नो प्रदेश आफैं बनाउने हो भने सबैको नियत सही हुनुपर्ने उनको भनाइ छ । सांसद धर्मराज रेग्मीले कर्णालीको विकास किन भएन भन्ने कुराको जवाफ कर्णाली सरकारले ल्याएका कुनै पनि बजेटले नदिएको बताए ।
उनले कर्णाली सरकारलाई बजेट बनाउने कुरामा एनजीओको भर नपर्न आग्रहसमेत गरे । बजेटमाथिको छलफलमा सांसद चन्द्रबहादुर शाही, सांसद करवीर शाही, गुलाबजंग शाहलगायतले बोलेको थिए ।
बजेटमाथिको छलफलमा सांसदहरुका प्रश्नको जवाफ दिँदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी वर्षमा कर्मचारी र संरचना बढ्ने भएकाले चालू बजेट धेरै ल्याएको बताए । उनले अघिल्ला वर्षहरुमा जस्तै यो वर्षमा बजेट कार्यान्वयनमा सांसदलाई शंका नगर्न आग्रह गर्दै यसपटक सरकारले बजेट कार्यान्वयनको आधार तयार गरेको बताए ।
यसैबीच, बजेटमाथिको दोस्रो संशोधनका लागि सांसद गुलाबजंग शाहले प्रस्ताव गरेको तीन सदस्यीय समितिसमेत अनुमोदन भएको छ । समितिमा सांसद देवी ओली, सांसद धर्मराज रेग्मी र सांसद दीनबन्धु श्रेष्ठ छन् । कर्णाली प्रदेश सभाको अर्को बैठक असार २० गते दिउँसो ३ बजे बस्नेछ ।
प्रकाशित समय २०:२० बजे
















