गृहपृष्ठ मधेसका माग सम्बोधन भए : महासचिव यादव
मधेसका माग सम्बोधन भए : महासचिव यादव
अन्ततः संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । यसअघि पटक–पटक सपथकै तयारी भएको भनेर पनि अड्किएको फोरमको सत्तारोहण यसपटक नयाँ कुनै सहमति भएर सम्भव भएको भने होइन । विगतमा मधेसीको अधिकार र संविधान संशोधनमा तत्कालीन नेकपा एमाले र त्यसका अध्यक्ष ओलीलाई मधेस विरोधीका रुपमा सक्दो प्रचार गरेर भोट मागेको फोरमको सत्तासहयात्रा केका लागि ? न्युज कारोबारका लागि रघुनाथ बजगाईंले फोरम नेपालका महासचिव रामसहाय यादवसँग गरेको कुराकानी :
सरकारमा जाने नै हुनुभयो है ?
हाम्रो मुद्दा सम्बोधन हुन्छ भनेर नै हामीले यो सरकारलाई सुरुमै सर्मथन गरेका हौँ । सरकारमा गए पनि नगए पनि समर्थन दिएपछि त यो सरकार हाम्रै हो । मन्त्रिपरिषदमा सहभागी भएरै जाने निर्णयमा आज लिखित सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा हाम्रो तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभयो ।
हाम्रो पार्टीले विगतमा उठाउँदै आएका माग पूरा गर्ने सम्बन्धमा नेकपाले लिखित सहमति नै जनाएर सँगै जाउँ भनेपछि हामीले स्विकारेका हौँ । हामीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख नै गरिएको छ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने गर्ने सहमतिपत्रमा भनिएको छ, यी सबै कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिने भन्ने लिखित सहमति हुनु सकारात्मक कुरा हो ।
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने भन्ने त पहिलेकै प्रतिबद्धता हो, आज नयाँ के भयो त ?
आज लिखत भयो र सरकारमा जाने बाटो खुल्यो, अब त्यसका लागि छलफल गरेर सरकारमा जाने कुरा हुन्छ ।
कतिपयले यो सत्ताको बार्गेनिङ हो, मन्त्रालयको कुरा मिल्यो फोरम सरकारमा गयो भनेका छन् नि ?
मिडियाले नै पहिला भन्थे कि तपाईंहरुको टुङ्गो लागिसक्या छ, आज–भोलिमा सपथग्रहण हुन्छ, तर त्यसो होइन । हामीले उठाएका पहिलो प्राथमिकता भनेको, हाम्रो सरोकार भनेको संविधान संशोधन हो । संविधान संशोधनमा जबसम्म सरकारको लिखित प्रतिबद्धता आउँदैन, तबसम्म अन्य विषय अगाडि बढ्दैन भन्दै आएका हौँ । पहिला लिखित प्रतिबद्धता, त्यसपछि मन्त्रिपरिषदमा जाने, मन्त्रालयको भागबण्डाको विषयमा छलफल गर्ने भन्नेअनुसार आज भयो र यी सबै विषय अगाडि बढेका हुन् । त्यही आधारमा आज सहमति भएको हो ।
फोरम नेपालको सत्तारोहणले मधेस र देशलाई के फाइदा हुन्छ ?
आज जुन सहमति भयो नि, हामीले भन्यौं संविधान संशोधन गर्ने आज सहमति भयो भनेर, आन्दोलनमा उठाएका माग पूरा गर्ने प्रतिबद्धता भएको छ । यही हो उपलब्धि, आन्दोलनमा उठाइएका माग र मुद्दाहरु सरकारले सम्बोधन गर्नुपर्छ, फास्ट ट्रयाकका रुपमा जारी भएको संविधान, अधुरो छ, अपुरो छ, यसलाई संशोधन गर्नुपर्छ भनेर सरकारले भन्यो नि । यो मधेसको हितमा छ, जनताको हितमा छ, दलित आदिवासी, जनजाति, मुश्लिम, सबै पिछडा वर्गको हकमा हो, त्यसकारण यो मुलुककै हितमा छ । मधेस विभेदरहित भयो, मधेसी जनताले समानता पायो भने आदिवासी जनजातिले पायो भने त्यो समग्र देशका लागि शान्ति र स्थायित्व सम्भव हुन्छ । मुलुकमा जब शान्ति र स्थायित्व हुन्छ तब मुलुकले विकास गर्छ र विकास भएपछि मात्रै वास्तविक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो समृद्ध नेपाल र सुखी नेपालको सपना पूरा हुन्छ । त्यसकारण हाम्रा माग सम्बोधन नगरिकन हुँदैनथ्यो, पहिचानका कुरा नगरिकन विकास हुँदैनथ्यो, यी नगरिकन कसरी दिगो शान्ति र स्थायित्व र विकास हुन्छ ।
एकातिर राजपाले संविधान संशोधनमा सरकारको प्रस्ट धारणा आएन अब सडक आनदोलन गर्छौं भनिरहेको छ, अर्कोतिर तपाईंहरु सरकारमा जाँदै हुनुहुन्छ, सम्बन्धमा चिसोपना त आउँदैन होला नि ?
हैन, आफ्नो–आफ्नो पार्टीको नीति हुन्छ, कार्यक्रम हुन्छ । अब हामीले संयुक्त रुपमा २ नम्बर प्रदेशमा सरकार बनाएर मधेसका सवालमा सरकारले प्रतिबद्धता जनायो भने केन्द्र सरकारसम्म जाने भन्ने नै सहमति भएको हो । मैले सुनिरहेको छु, राजपा नेपालका नेताहरुसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ । अन्यथा, कुनै पनि पार्टीले आफ्नो कार्यक्रम ल्याउन सक्छ । त्यसमा हाम्रो विरोध वा सर्मथनभन्दा पनि राष्ट्रिय आवश्यकता के हो ? जनताले के खोजेका छन् भन्ने हेर्नुपर्छ । हामीले सरकारसँग आज गरेको सहमति उहाँहरुको माग पनि पुरा गर्नेगरी भएको छ । यो एतिहासिक हो भन्ने हामीलाई लागेको छ । हामीले आफ्ना छुट्टाछुट्टै कार्यक्रम पनि गरिरहेका छौँ । त्यसमा कुनै किसिमको एक अर्काले रोक्ने, बाधा पुर्याउने भन्ने छैन, त्यो त आफ्नो दृष्टिकोण हो ।
सरकारमा सहभागिताकै कुरामा जोड दिऊँ न, तपाईंहरु कसको नेतृत्वमा जाने, को–को जाने हो, टुंगो लाग्यो ?
हामी छलफलमा छौँ, भोलि यसमा विस्तृत छलफल पार्टीभित्र हुन्छ । आज सैद्धान्तिक सहमतिमात्रै भएको हो । यसपछि अब मन्त्रालयको, मन्त्रीको विषयमा टुङ्गो लाग्छ । पहिला त मन्त्रालयको विषयमा टुङ्यो लागेपछि व्यक्तिमा जाने भन्ने हुन्छ ।
अध्यक्षसहित तपाईंको नाम पनि चर्चामा छ नि !
अब पार्टीले के निर्णय गर्छ, मन्त्रालय कुन भन्ने हुन्छ । अध्यक्षकै नेतृत्वमा पनि जान सक्छौँ, त्यो ढंगको पनि छलफल चलेको छ तर यसै भन्न सकिन्न ।
प्रकाशित समय २१:३७ बजे
















