गृहपृष्ठ कांग्रेस मिसन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल
कांग्रेस मिसन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल
फाइल तस्बिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अब मिसन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिबार चितवनमा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे ।
राजनीतिमा मिसन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । ‘राजनीतिमा मिसन नहुँदा जनतामा वितृष्णा बढेर गयो, उनले भने, ‘यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’
उनले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योल छाएको बताए ।
फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।’
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले प्रशिक्षण दिएका थिए । (रासस)
प्रकाशित समय ११:१६ बजे
















