गृहपृष्ठ गगन थापाले भने- अर्थमन्त्रीले साहस गर्न सकेनन्
गगन थापाले भने- अर्थमन्त्रीले साहस गर्न सकेनन्
काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको आगामी आर्थिक वर्षको बजेट केही सन्तोषजनक ढंगको आएको बताएका छन् । धरायलीय यथार्थप्रति सावधान भएर बजेटको आकार निर्धारण गरिएकाले गैरकम्युनिस्ट अर्थशास्त्रीहरुले पनि बजेटमा सन्तोष मानेको पाइएको उनले बताए ।
‘वाम घोषणापत्र हावादारी थियो, कम्युनिस्ट सरकारले ल्याएको नीति बरालिएको थियो । यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर पालिरहेकाहरुलाई यो बजेट घोषणाभन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेकाले सन्तोष मानेको पाइएको छ,’ बजेटमाथिको छलफलका क्रममा अाइतबार संसदमा उनले भने ।
कांग्रेसका सांसद थापाले बजेटमा चार मुख्य कमजोरी औंल्याए । अर्थमन्त्री डा. युवराज खतिवडाको सफलता–असफलता थाहा पाउन अर्को वर्ष पर्खिनुपर्ने उनले बताए ।
बजेटमा सरकार चार ‘स’मा चुकेको थापाले औंल्याए । ‘पहिलो, संविधान कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएकाले संघीयता कार्यन्वयनमा यो बजेटसँग धेरै अपेक्षा थियो– विस्तृत दृष्टिकोणको, मार्गदर्शनको र रणनीतिको । तर, बजेट पूर्ण रुपमा चुकेको छ,’ उनले भने ।
दोस्रो, २०१५ र २०४८ मा जस्तै अहिले मार्गदर्शनको अपेक्षा गरोस् र वार्षिक केही कार्यक्रमको किटानी होस् भन्ने अपेक्षा भए पनि बजेटले त्यसलाई पूरा गर्न नसकेको कांग्रेस सांसद थापाको भनाइ छ । अर्थमन्त्रीले पूर्वाधारमा जोड दिए पनि कार्यक्रम छरिएकाले परीणाम दिन नसक्ने उनको दाबी छ ।
तेस्रो, निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम संघीयताको मर्मविपरीत भए पनि अर्थमन्त्रीले हटाउन साहस गर्न नसकेको उनको आरोप छ । ‘ऋण लिएर भए पनि कतिपय पूर्वाधारका कार्यक्रम सम्पन्न गर्छु भन्ने साहस पनि अर्थमन्त्रीले गर्न सक्नुभएन,’ सांसद थापाले भने ।
चौथो, राजस्वको लक्ष्य ठूलो रहेकाले अर्थमन्त्रीले करको दायरा बढाउनुको साटो दर बढाउने बाटो रोजेको उनको दाबी छ । यद्यपि, इतिहास अनुकूल रहेको, उत्कृष्ट पार्टी सरकारमा रहेको, उत्कृष्ट व्यक्ति प्रधानमन्त्री भएको र नेपालका कम्युनिष्टसँग भएकामध्येका उत्कृष्ट व्यक्ति अर्थमन्त्री रहेकाले मुलुक बनाउने अवसरको सदुपयोग गर्न आग्रह गर्दै उनले भने, ‘तपाईंलाई हाम्रो पूर्ण सहयोग रहन्छ ।’
प्रकाशित समय १७:१० बजे
















