गृहपृष्ठ लकडाउनलाई प्रभावकारी बनाउन प्रदेश १ मुख्य राजनीतिक दलहरुको आह्वान
लकडाउनलाई प्रभावकारी बनाउन प्रदेश १ मुख्य राजनीतिक दलहरुको आह्वान
कोरोना महामारीको संकटसँग जुध्न प्रदेश १ का मुख्य राजनीति दलहरु एक ठाउँमा उभिएका छन् । उनीहरुले लकडाउनको पूर्ण पालनाका लागि प्रदेशवासीलाई आह्वान गर्दै विभिन्न निर्णयसमेत गरेका छन् ।
सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने पाँच दलको निर्णय छ । उनीहरुले अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति सञ्चालन गर्न अनुरोध गरेका छन् ।
लकडाउनका कारण उत्पन्न हुनसक्ने खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत अत्यावश्यक सामग्रीको उपलब्धता र निम्न आय भएका र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन चार दलको अनुरोध छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिसहरु साँझको समयमा विनाउद्देश्य हिँडडुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकाले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न–गराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा सञ्चालित क्वारेन्टाइन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने, त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने राजनीतिक दलहरुको निर्णय छ ।
बैठकपछि नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, कांग्रेसको मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बू, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष राजकुमार यादव उपाध्यक्षले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
प्रकाशित समय १९:०९ बजे
















