गृहपृष्ठ मध्यरातमा प्रधानन्यायाधीशलाई किन भेटे प्रधानमन्त्रीले ?
मध्यरातमा प्रधानन्यायाधीशलाई किन भेटे प्रधानमन्त्रीले ?
पटक पटकका अलोकतान्त्रिक गतिविधिका कारण चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेका छन् । प्रधानन्यायाधीश जबरालाई प्रधानमन्त्री ओलीले मध्यरातमा बालुवाटार बोलाएपछि राजनीति थप तरंगित भएको छ ।
यसबीचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल तथा प्रचण्ड र माधवकुमार नेपालबीच पनि भेटघाट भइसकेको छ । स्थायी समिति र संसदीय दलमा समेत अल्पमतमा रहेका बेला ओलीले ‘कानुनी विकल्प’का लागि प्रधानन्यायाधीशसँग भेट गरेको बुझिएको छ ।
विश्व समुदायसँगै नोवेल कोरोनाभाइरस (कोभिड १९) महामारी सामना गरिरहेका बेला सरकारकै अलोकतान्त्रिक गतिविधिका कारण राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ । प्रधानमन्त्री पार्टीभित्र र बाहिर एक्लिँदै गएका छन् । पार्टी फुटाउन पूर्वराज्यमन्त्री अपहरणदेखि बेसमयमा अध्यादेश ल्याउने र कमिसनखोरलाई सरकारमै राखिरहने जस्ता अप्रिय र अप्रजातान्त्रिक गतिविधि बढाएपछि सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित हालै एकीकृत भएको जनता समाजवादी दल र राप्रपाले औपचारिक विरोध जनाइसकेका छन् ।
पार्टीभित्र प्रधानमन्त्रीका क्रियाकलापको चर्को आलोचना भइरहेको छ । नेकपाका २० स्थायी समिति सदस्यहरूले हस्ताक्षर नै संकलन गरेर प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई स्थायी समिति बैठक बोलाउन माग गरेका छन् ।
यसैबीच, सोमबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राजदूत होउ यान्छीलाई राष्ट्रपति निवास बोलाएकी छन् । उनीहरूबीचको भेटघाट पनि पछिल्लो राजनीतिक विषयमै केन्द्रित रहेको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई पनि बोलाएर ब्रिफिङ लिएका थिए ।
प्रकाशित समय ०८:१६ बजे
















