गृहपृष्ठ मंगलादेवीलाई रत्न विभूषणबाट विभूषित गर्न गणेशमान अध्ययन प्रतिष्ठानको अपिल
मंगलादेवीलाई रत्न विभूषणबाट विभूषित गर्न गणेशमान अध्ययन प्रतिष्ठानको अपिल
नेपाली महिला आन्दोलनकी अग्रज तथा प्रजातान्त्रीक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानले अपिल गरेको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा स्व। मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको सबैलाई विदित भएको भन्दै प्रतिष्ठानले अपिल गरेको हो । महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वञ्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनुपर्ने अधिकारका लागि आवाज उठाउने विरंगाना मंगलामा नेपाली महिला अधिकार आन्दोलनकी नेतृ भएको भन्दै प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘काठामाडौंको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदा हुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त उनले खेप्नु भएको दुःख कष्ट सबैको लागि प्रेरणादायी रहेको छ । २००७ सालको क्रान्ती देखि २०४६ सालको जनआन्दोलन सम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रह्यो । नारी पुरुष एक अर्काको पुरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थी बिगार्नु होईन बरु यो त कर्तब्य बोध पनि हो, महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनुपर्दछ भन्ने मान्यता राख्ने मंगलामा नेपाल महिला संघको पहिलो अध्यक्ष हुनुहुन्थ्यो ।’
रुढिवादमा पिल्सीएको सामाजिक परिवेशमा नारी आन्दोलनको ज्वाला बाल्नु स्व. सिंह जस्तो दृढ निस्चयी नेतृलाई मात्र सम्भव थियो । महिला संघको नेतृत्वमा भएका आन्दोलनको फलस्वरुप नै अहिले संविधानमा महिला हक अधिकारका कुरा लिपिबद्ध हुन सकेका छन् । मंगलादेवी सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पतिलाई जन्मकैद भएको बज्रपात सहेकी थिइन् । तर, सो घटानाले उनलाई हतास बनाएन र उनी विद्रोही आन्दोलनमा सक्रियताका साथ लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘दृढ निस्चयी, अविचल, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातन्त्री आन्दोलनकी अग्रणी सिपाही मंगला मा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनुहुन्छ । प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वाञ्छनीय छ । अतः यस गणेशमान सिंह अध्ययन प्रतिष्ठान मंगलादेवी सिंहलाई नेपाल रत्नबाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायित्व हो भनि ठहर गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित समय ११:२९ बजे
















