गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको प्रस्ताव पारित, महाधिवेशनको मिति तय

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको प्रस्ताव पारित, महाधिवेशनको मिति तय

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ ।  बैठकबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ ।

आजको बैठकमा अध्यक्षद्वयको प्रस्तावमा आफ्नो धारणा राखेका १३ जनाले उठाएका विषयवस्तुलाई प्रचण्डले सम्बोधन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्षद्वयले प्रस्तुत गरेको प्रस्ताव बैठकमा उठेका प्रश्नको सम्बोधन गर्नेगरी पारित गरिएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी पनि दिएको छ । अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा पूर्णत: केन्द्रित हुने निर्णय पनि बैठकले गरेको छ । बैठकले नेकपाको पहिलो एकता महाधिवेशन चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ।

बैठकमा रघु पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, घनश्याम भुषाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बैठकमा आफ्नो धारणा राखेका थिए ।

गत असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समिति बैठक बीच-बीचमा केही समयका लागि चले पनि असार १८ गतेदेखि पूर्णतया: अवरुद्ध भएको थियो ।

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु