गृहपृष्ठ नेकपा फुटको संघारमा पुगेकै हो ?

नेकपा फुटको संघारमा पुगेकै हो ?

अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा शीर्ष नेतृत्वबीचको विवाद उत्कर्षमा छ । दुई सचिवालय सदस्य विष्णुप्रसाद पौडेल र नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा वह पोख्दै नेतृत्वभित्रको विवाद सतहमा ल्याइदिएका हुन् । त्यसपछिका दिनमा ईश्वर पोखरेललगायतका नेता पनि सम्हालिन नसकेपछि ‘नेकपा फुटको संघारमा’ मार्काका शीर्षकसहितका समाचार टिभी, पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा ठूलो कभरेज पाइरहेका छन् ।

विष्णु पौडेलले के लेखे ?

राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो ।

पार्टी एकता सम्पन्न भएसँगै हाम्रासामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ, आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

नारायणकाजी श्रेष्ठले के लेखे ?

हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ । तसर्थ, पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुमा खुला छलफल गरौं । पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन ।

तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिबद्धता भए पुग्छ, त्यो हो पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् । सबैले समयमै सोचौँ ।

महासचिव पौडेलले मंसिर १६ गते आइतबार दिउँसो सवा २ बजे र प्रवक्ता श्रेष्ठले राति सवा ९ बजे लेखेका यी फेसबुक स्टाटसले विवाद पार्टीमा भन्दा पनि व्यक्तिमा रहेको स्पष्ट संकेत गर्छ । यसको अर्थ अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष केपी शर्मा ओलीबीचको शक्तिको लडाइँ उत्कर्षमा छ ।

श्रेष्ठले भनेझैँ महान क्रान्तिकारी उद्देश्यसहित ठूलो मेहनत गरेर भएको एकतामा गम्भीर संकट उत्पन्न हुँदा पनि यी दुई शीर्ष नेता किन जुँगा मुसारेर बसिरहेका छन् भन्ने प्रश्न यतिबेला आम कार्यकर्ता र मतदाताले गरिरहेका छन् । विगतका ठूल्ठूला विवाद पनि सहजै वार्ता गरेर हल गर्ने नेताहरू यतिखेर किन गुटगत भेला गर्न बाध्य भए ? के नेकपाभित्रको विवाद भुसको आगोजस्तै भित्रभित्रै सल्किसकेको छ ? के नेकपा दुई नेताहरूको जुँगाको लडाइँको सिकार बन्ने स्थिति आइसकेको छ ? के नेकपा फुटको संघारमा पुगेकै हो ?

के भन्छन् युवा नेता ?

पार्टी फुट्दैन, फुटाउँछु भन्नु ब्ल्याकमेलिङ : हिमाल शर्मा

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता हिमाल शर्माले नेतृत्वबीच स्वार्थ बाझियो भन्दैमा ‘पार्टी फुटाउँछु’ भन्नु आम कार्यकर्तामाथिको ब्ल्याकमेलिङ भएको बताएका छन् । ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ,’ न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘नेकपाको एकता अब दुई जना नेतृत्वले मिल्यौँ भन्दा मिल्नुपर्ने र फुटाउँछौँ भन्दा फुट्नुपर्ने अवस्थाभन्दा धेरै माथि छ, फुटाउँछु भन्नु कार्यकर्तामाथिको ब्ल्याकमेलिङमात्र हो ।’

नेकपाभित्र सैद्धान्ति, वैचारिक या रणनीतिक कुनै पनि किसिमको विवाद नरहेकाले फुट्ने आधार नै नभएको उनको तर्क छ । ‘पार्टीको कार्यदिशा भनेको समाजवाद हो, त्यसकै लागि पार्टी एकता भएको हो,’ नेकपाका काठमाडौँ जिल्ला सचिव शर्माले भने, ‘स्वार्थ बाझियो भन्दैमा पार्टी विभाजनको धम्की दिने कुरा जस्टिफाइ हुन सक्दैन, हामी तत्काल यसको जवाफ खोज्छौँ ।’

भदौ २७ गतेको केन्द्रीय कमिटी बैठकले तयार पारेको दस्तावेजको स्पिरिटअनुसार नेताहरू कार्यकर्तासम्म पुग्दै र उनीहरूलाई बुझाउँदै गर्दा जुन प्रकारका गतिविधि नेतृत्वबाट भइरहेका छन् यसले सबैलाई मर्माहत बनाएको नेता शर्माले बताए । ‘आफूले भनेजस्तो भएन भन्दैमा पार्टी फुटाउने कुरा किन र कसरी आयो, यसको जवाफका लागि हामी मंसिर १५ कुर्न सक्दैनौँ, स्थायी कमिटी बैठक तत्काल बस्नुपर्छ, त्यहाँ हामीलाई चित्तबुझ्दो जवाफ नेताहरूले दिनुपर्छ ।’

नेकपा कुनै हालतमा फुट्दैन : नवीना लामा

नेपाल कम्युनिस्ट पार्टी नेकपाकी युवा नेतृ एवं सांसद नवीना लामाले नेतृत्वको विवादले पार्टी कुनै हालतमा नफुट्ने बताएकी छन् । ‘अहिले नेकपामा भन्दा पनि नेताको व्यक्तिगत स्वार्थ र इगोले विवाद बढेको देखिन्छ,’ न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘पार्टी त शतप्रतिशत फुट्दैन तर शीर्ष नेतृत्वबीचको विवादले कार्यकर्ता र जनतामा भने गम्भीर निराशा पैदा गरेको छ ।’

पार्टी फुट्न विचार र सिद्धान्तमा मतभेद हुनुपर्ने उनको भनाइ छ । ‘तर अहिले विचार र सिद्धान्तमा कुनै पनि विवाद छैन, नेताहरूबीच इगोमात्र देखिएको छ,’ उनले भने, ‘विधि र प्रक्रियामाथि प्रश्न उठाउँदा पार्टी फुटाउने कुरा गर्नु एकदमै गलत छ ।’

नेताहरूबीच आपसी छलफल र समन्वय कम भएका कारण असमझदारी बढेको हिसाबले यसलाई बुझ्नुपर्ने सांसद लामाले बताइन् । ‘यो पहिलोपटक होइन, विगतमा पनि यस्ता गतिविधि भइरहेका छन्, नेताहरू बसेरै समाधान खोजेका छन्, अहिले पनि त्यही हो, व्यक्तिगत स्वार्थ छाडेर दुवै नेताले छलफल गर्नुपर्छ,’ उनले भनिन्, ‘पटक-पटक विवाद सिर्जना गरेर कार्यकर्ता र जनतामा अन्योल सिर्जना गर्न राम्रो होइन ।’

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु