गृहपृष्ठ ओलीको असहमतिका बाबजुद प्रचण्डले बोलाए सचिवालय बैठक

ओलीको असहमतिका बाबजुद प्रचण्डले बोलाए सचिवालय बैठक

nekapa-building_newskarobar

आन्तरिक विवादग्रस्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर पार्टीको बैठक बोलाउने तयारी गरेका हुन् ।

मंगलबार दिउँसो चार बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेर भोलिका लागि औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी छ । नेकपाका प्रचण्डनिकट एक नेताका अनुसार दिउँसो ४ बजे धुम्बाराहीमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अनौपचारिक छलफल गर्नेछन् ।

बहुमत सचिवालय सदस्यले दुई दिनभित्र पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै ओलीलाई शनिबार पत्र बुझाएका थिए । तर, ओलीले तत्काल बैठक बस्न नसक्ने जानकारी गराएपछि पार्टी निर्णयअनुसार अगाडि बढ्न भोलिसम्म औपचारिक बैठक बोलाउने तयारी गरिएको ती नेताले बताए ।

ओलीले लिखित आग्रह गर्दा पनि बैठक नबोलाएपछि आज बेलुकीसम्म भोलि वा पर्सीसम्म बैठकका लागि प्रचण्डले सूचना जारी गर्नेछन् । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने र अगाडि बढ्ने तयारी गरेको स्रोतको भनाइ छ । प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई बैठक बोलाउने सन्देश पठाइसकेका छन् ।

पार्टीभित्रको विवाद चर्किरहेका बेला सोमबार अध्यक्ष ओलीले विघटन भइसकेको कार्यदलका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर कार्यदलमा रहेका प्रचण्डनिकट सदस्यहरू अनुपस्थित भएपछि भेट स्थगित भएकाे थियाे । पार्टीभित्रको विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

त्यसअघि ओलीले पूर्वएमालेका नेताहरूसँग पनि छलफल गरेका थिए । उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग ओलीसँग  छलफल गरेका हुन् ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु