गृहपृष्ठ नेकपा नेता बोम खड्काको निधन
नेकपा नेता बोम खड्काको निधन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गएराति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो ।
नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन् । २०२३ साल असारमा धुर्कोट गाउँपालिका- १, नयाँगाउँमा जन्मिएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति थिए । २०४१ सालभन्दा अगाडि नै रेसुंगा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको संगठनमा आबद्ध भई उनले संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी २०४१ सालमा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र २०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव थिए । त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष थिए ।
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं. २ का इन्चार्जको जिम्मेवारीमा थिए । नेता खड्का जनयुद्धको समयमा पटक-पटक प्रहरीद्वारा पक्राउ परेको, कांग्रेससँगको भिडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको भोगेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिए। अहिले भने नेता खड्काले धुर्कोट नयाँगाउँमै कुखुरा तथा टर्कीपालन गर्दै आएका थिए । नेता खड्काका एक छोरा र एक छोरी छन् ।
प्रकाशित समय १२:३० बजे
















