गृहपृष्ठ कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल
कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिक रुपमा संघर्ष गरिरहेको जानकारी दिए।
उनले भने, ‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।’ पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए । वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्द्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने छ भने ।
प्रकाशित समय १३:०२ बजे
















