गृहपृष्ठ आज देशैभर सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

आज देशैभर सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

nepali_congress

सरकारको कार्यशैलीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिनअघि तनहूँमा भएको दुर्व्यवहार, देशभा बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाहीविरुद्ध प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ भनेका छन् । अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ अपिलमा भनिएको छ ।

प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ । ७७ जिल्लामा हुने प्रदर्शनलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्नेछन् । सभापति देउवाले मकवानपुर, वरिष्ठ नेता पौडेलले काठमाडौं, विमलेन्द्र निधिले भक्तपुर तथा प्रकाशमान सिंहले धनुषामा हुने प्रदर्शनको नेतृत्व तथा सम्बोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु