गृहपृष्ठ प्रधानमन्त्रीको असंवैधानिक कदमको सर्वत्र विरोध

प्रधानमन्त्रीको असंवैधानिक कदमको सर्वत्र विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक प्रावधानविपरीत संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सर्वत्र विरोध भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पर्टीका नेता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका दल तथा कानुनविद् एवं सर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले संसद विघटनको सिफारिस असंवैधानिकमात्र नभएर अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि भएको बताएका छन् । उनले ट्विट गर्दै राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नु नहुने बताएका छन् । त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले पनि असंवैधानिक संसद विघटनको प्रस्ताव राष्ट्रपतिले मान्न नहुने बताएका छन् । प्रधानमन्त्रीको कदम नेपाली जनताले नेकपालाई पाँच वर्षका लागि दिएको जनमतको घोर अपमान भएको भन्दै उनले ट्विट गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीको कदमको आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीबाट गैरजिम्मेवार हर्कत लोकतन्त्रको हितमा नभएकाले सबैतिरबाट प्रतिवाद गरिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष कायम गरियो । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमै संसद विघटन गर्न नदिने प्रावधान राखेका थियौँ । त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका छन् । अत्यन्तै दुःखद् छ । यसले संविधान सभाबाट ल्याइएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ । लोकतन्त्र र संविधानको प्रावधानविपरीत छ ।’ त्यस्तै प्रधानमन्त्रीको कदमको सामाजिक सञ्चालमा व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु