गृहपृष्ठ नेकपाकाे युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने
नेकपाकाे युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने
तत्कालिन नेकपा (एमाले) र माअाेवादीले केन्द्र एकता गरी नेपाल कम्युनिस्ट पार्टीकाे निर्माण गरेपछि उनीहरूका भातृ संगठनकाे एकता प्रकृया समेत अगाडि बढेकाे छ । त्यसाेत पार्टी एकतासँगै उसका जनवर्गीय सँगठनहरूकाे एकता प्रकृयालार्इ समेत अगाडि बढाइने पुरानै परम्परा हाे ।
अहिले तत्कालिन एमालेकाे युवा संगठन युवा संघ नेपाल र तत्कालिन माअाेवादी केन्द्रकाे युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणकाे प्रकृया समेत अघि बढाइएकाे छ । दुर्इ युवा संगठनहरूकाे एकताका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ ।
सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय बैठक बस्ने, ३१ गते संयुक्त बैठक बस्ने र एकताका लागि भएका कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।
एकताका लागि युवा संघ इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएल इन्चार्ज मणि थापा एवं दुवै संगठनका प्रमुख सम्मिलित कार्दल गठन गरिएकाे थियाे । युवा संघ र वाइसिएलको एकीकरणपछि निर्माण हुने संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने बताइएकाे छ ।
एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने र देशभरका संगठनमा शक्ति पृथकीकरणकाे अभ्यास गरिने कार्यविधि तयार गरेको छ ।
तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए ।
विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । युवा वर्गलाई व्यावसायिक र सीपमूलक शिक्षा प्रदान गरी उत्पादनसँग जोड्ने र युवा सशक्तीकरणलगायत विषयमा समेत आइतबार बसेको बैठकले छलफल गरेको थियो ।
दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ ।
(रासस)
प्रकाशित समय १३:०६ बजे
















