गृहपृष्ठ भारतको राजकीय भ्रमण हुने सरकारको निर्णय

भारतको राजकीय भ्रमण हुने सरकारको निर्णय

kp-oli-newskarobar
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुने भएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले ३ दिन भारतको राजकीय भ्रमण गर्ने औंपचारिक निर्णय गरेको हो । प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यहरुको संख्या भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तय गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा टेबल गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद बैठकले भुक्तानी तथा फस्र्याैट विधेयकको सैद्धान्तिक अवधारणा पनि स्वीकृत गरेको छ । भुक्तानीका लागि आवश्यक ऐन निर्माणका लागि अर्थ मन्त्रालयले तयार पारेको सो सैद्धान्तिक अवधारणा स्विकृत गरिएको राज्यमन्त्री बास्कोटाले बताए । सरकारले विधेयक तयारी सहजीकरण समितिको सदस्यमा पूर्व कानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त पनि गरेको छ । त्यसैगरी न्यूजिल्याण्ड वाटर म्यानेजमेन्ट परियोजनाका लागि एशियाली विकास बैंकले उपलब्ध गराउने १ अर्ब अनुदान सहायता लिने प्रस्ताव अनुमोदन गरिएको छ । विभिन्न परीक्षाहरु समेत चालू रहेकाले असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रुपमै संचालन गर्ने अन्तरिम व्यवस्था सरकारले गरेको छ । चालू बजेट, नीति र कार्यक्रमभित्रै रहेर असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रहने निर्णय गरिएको पनि राज्यमन्त्री बास्कोटाले बताए । अन्य संरचना भने चैत २८ गतेबाट खारेज हुनेछ ।
सरकारले नेपाल विकास समिति गठन आदेश पनि स्विकृत गरेको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु