गृहपृष्ठ राष्ट्रिय सभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेट

राष्ट्रिय सभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेट

अध्यक्ष तिमिल्सिनाले दिए चुनावको शुभकामना

rastriyasabha-newskarobar

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले आउँदो जुलाई २५ मा पाकिस्तानमा हुने आम निर्वाचनको शुभकामना व्यक्त गरेका छन् ।

‘प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको प्रतिनिधी नै जनताको खास प्रतिनिधी हो । नेपालमा पनि भर्खर निर्वाचन सम्पन्न भएर नयाँ प्रतिनिधि चुनिएका छन्’ तिमिल्सिनाले राजदूत जावेदसँग भने, ‘पाकिस्तानमा पनि आम निर्वाचनबाट सोहीअनुसार प्रतिनिधी छनोट हुनेछन् । जसले गर्दा दुई देशबीचको सहकार्य थप मजबुद बन्नेछ ।’

अध्यक्ष तिमिल्सिनाले नेपाल र पाकिस्तान लामो संक्रमणपछि शान्ति र विकासमा अगाडि बढेकाले आगामी दिनमा दुई देशबीच सहकार्य व्यापार, पर्यटन, लगानीमा केन्द्रित गर्दै जानुपर्ने विचार व्यक्त गरे ।

फरक प्रसँगमा अध्यक्ष तिमिल्सिनाले पाकिस्तानले क्षेत्रीय संगठनमा खेलेको भूकिका, आतंकवादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समधान खोज्नुपर्ने धारणा राखे । साथै उनले जनस्तरको सम्बन्धलाई मजबुत बनाउन पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गरे । ‘हाम्रो जनस्तरको सम्बन्ध मजबुत छ । यसलाई अझ विस्तार गर्न खेलकूद लगायतका क्षेत्रमा पनि सहकार्य जरुरी छ,’ उनले भने ‘पाकिस्तान क्रिकेट खेलमा अगाडि छ । जसमा नेपाली खेलाडीलाई पनि अवसर दिनेछ भन्ने अपेक्षा छ ।’

भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताए । उनले पाकिस्तान आतंकवादलाई नियन्त्रण गर्दै देशको विकासमा केन्द्रित भएको जानकारी गराए ।

‘हामी मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएका छौं’ राजदूत जावेदले भने ‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुद बनाउन चाहन्छौं ।’ भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गरे ।

प्रकाशित समय १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु