गृहपृष्ठ विरोध गर्ने निश्चित ठाउँ तोक्नु सरकारको अधिकार : देव गुरुङ

विरोध गर्ने निश्चित ठाउँ तोक्नु सरकारको अधिकार : देव गुरुङ

Dev-Gurung-newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा गुरुङले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको जिकिर गरे ।

‘विरोध नै गर्न नपाइने गरी निषेध गरिएको होइन,’ गुरुङले भने, ‘विरोध गर्ने निश्चित स्थान तोकिएको हो, लोकतान्त्रिक पद्धतिअनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत हो ।’

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको बताउँदै उनले भने, ‘कोइराला विधिअनुसार नचलेकाले यस्तो अवस्था आएको हो, कोइरालाले देशको कानून भन्दा बाहिर गएर काम गर्न खोजेको पाइयोे, सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको हो ।’

चिकित्सा विधेयकबारे जुम्लामा अनशनरत गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउँदै उनले सबै माग हुबहु सम्बोधन भने नहुने उल्लेख गरे । सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको दावी गर्दै गुरुङले केसीको उपचार काठमाडौं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको बताए ।

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ भएको उनको भनाइ थियो । भारतबाट मात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो ।

(रासस)

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु