गृहपृष्ठ सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी

सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी

zoo bhaktpur -newskarobar

सदर चिडियाखाना भक्तपुरस्थित सूर्यविनायकमा विस्तारको तयारी भएको छ । जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताए ।

जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ । यहाँ चिडियाखाना ६ हेक्टर रहेको छ भने सूर्यविनायकमा १४.२९ हेक्टरमा जनावरलाई राखिनेछ । पोखरेल भन्छन्, ‘यहाँ जनावरलाई विभिन्न खोरभित्र राखिने गरिएकामा सूर्यविनायकमा खुल्ला हुनेछ ।’

क्षेत्रफल ठूलो हुँदा ठूला जनावरलाई सहज हुने पोखरेलले बताए । ‘यहाँ सानो क्षेत्रफलमा व्यवस्थापन गरेर जनावरलाई राखिएको छ,’ उनले भने, ‘हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रियस्तरको बनाउन लागेका छौं ।’ सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ ।

चिडियाखाना विस्तारको काममा प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले झण्डै २२ वर्ष अघिदेखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो ।

चिडियाखानाको स्थापना १९८९ सालमा भएको हो । यहाँ वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । चिडियाखानामा १२४ प्रजातिका ८३७ वटा जनावर छन् ।
(रासस)

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु