गृहपृष्ठ महोत्तरीमा राजपाको ‘ग्याङ फाइट’, दर्शक बने राज्यमन्त्री शर्मा

महोत्तरीमा राजपाको ‘ग्याङ फाइट’, दर्शक बने राज्यमन्त्री शर्मा

झडपमा पाँच जना घाइते

फाइल तस्बिर

महोत्तरीको पिपरा गाउँपालिकाले आइतबार गाउँपरिषदको आयोजना गरेको थियो । कार्यक्रममा गाउँपालिकाको विकास निर्माण र योजनाका विषयमा छलफल गर्ने कार्यक्रम थियो । प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मालाई कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो । उनी राजपाका नेता पनि हुन् ।
शान्त वातावरणमा चलिरहेको उक्त कार्यक्रम सुरुवातमै एकाएक विथोलियो । गाउँपालिका अध्यक्ष विनोद चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँपरिषद गरेको र भने अनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोध हुँदाहुँदै परिषद आयोजना गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।
झडप हुँदा पाँच जना घाइते भएका छन् । पार्टीको गुटगत नेताका कार्यकर्ताबीच भएको झडप छुट्याउने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको थियो । उक्त अवधीभर राज्यमन्त्री शर्मा दर्शक झैँ आफ्नै कार्यकर्ताहरुको झडप हेर्न विवश भए । करिव आधा घण्टा पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए ।
आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल विकास योजनाहरु बनाएर परिषद गर्न खोजेकाले वाध्य भएर विरोधमा उत्रिनु परेको पाण्डेले बताए । झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेसहित पाँच जना घाइते भएका छन् ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु