गृहपृष्ठ स्थायी राजधानी विवादले प्रदेश १ मा नेकपालाई सकस

स्थायी राजधानी विवादले प्रदेश १ मा नेकपालाई सकस

संसदीय दलको बैठक स्थगित

प्रदेश १ को राजधानीलाई लिएर नेकपाभित्र किचलो भएको छ । प्रदेश १ का नेकपाका अधिकांश सांसद विराटनगरबाट राजधानी अन्यत्र सार्न नहुने पक्षमा छन् । तर, मुख्यमन्त्री शेरधन राई भने राजधानी विराटनगरबाट अन्यत्र सार्न लागिपरेका छन् । नेकपा संसदीय दलको बैठकमा समेत अधिकांश सांसदले अस्थायी राजधानी विराटनगरलाई नै स्थायी बनाउनु पर्ने राय राखेका छन् ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन विराटनगरमा दुईदिनसम्म बसेको नेकपाको बैठकमा बोल्ने ५४ सांसद मध्ये ५२ जनाले विकेन्द्रीकरणको विपक्षमा धारणा राखेका छन् । उनीहरुले प्रदेशको नाम पहिचानलाई समेटेर किराँत कोशी वा किराँत सगरमाथा राख्नुपर्ने धारणा राखेका छन् ।

विराटनगरस्थित फन एण्ड फुड भिलेज रिसोर्टमा बसेको बैठकमा सोमबार पहिलो दिन २ जना सांसदले आफ्नो धारणा राखेको भए पनि मंगलबार ५२ जना सांसदले प्रदेशको नाम र राजधानीको विषयमा धारणा राखेका थिए ।बैठकमा उठेका विषय बाहिर नबोल्न सांसदहरुलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई र पार्टीका इन्चार्ज भीम आचार्यले निर्देशन समेत दिइएको बताइएको छ ।

यद्यपि, अनौपचारिक कुराकानीका क्रममा सांसदहरुले प्रदेशको राजधानी इटहरी आसपास बनाउनु पर्ने र कार्यपालिका र व्यवस्थापिका एकै ठाउँ हुनुपर्नेमा जोड दिएको बताएका छन् । मंगलबारको बैठकमा प्रदेश इन्चार्ज भीम आर्चायले राय राखेपछि बैठक स्थगित भएको नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जनाकारी दिए । अर्को बैठकको मिति तय भएको छैन ।

मुख्यमन्त्री राईले अर्को बैठकको मिति तय गरेपछि पुनः दलको बैठक बस्ने राजभण्डारीले जानकारी दिए । प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ ।

प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नाम र स्थायी राजधानी टंगो लगाउने पक्षमा प्रदेश सरकार रहेको छ । सम्भवत यही साता भित्र बस्ने प्रदेशसभा बैठकबाट नाम र स्थायी राजधानी प्रदेश नम्बर १ ले पाउने छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु