गृहपृष्ठ प्रदेश २ मा नेकपाको सरकार बन्न सक्छ : माधव नेपाल
प्रदेश २ मा नेकपाको सरकार बन्न सक्छ : माधव नेपाल
जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बेला अाएकाे छ : पाैडेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नम्बर २ मा नेकपाको सरकार गठन हुँदैन भन्न नसकिने बताएका छन् । ‘भोली २ नम्बरमा पनि सरकार बन्दैन भन्न सकिँदैन,’ वरिष्ठ नेता नेपालले भने, ‘र, त्यो बनाउनु पनि पर्छ ।’
रौतहट काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चोभारमा शनिबार आयोजना गरेको दसैं, तिहार र छठको शुभकामना तथा वनभाेज कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । केन्द्रीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल तिर संकेत गर्दै नेपालले भने, ‘केन्द्रको सरकारमा सहभागी भइसकेपछि प्रदेश सरकारमा पनि सहभागी हुनु स्वाभाविक कुरा पनि हो ।’
नेता नेपालले मुलुकको सही नेतृत्व नेकपाले मात्र गर्न सक्ने उल्लेख गर्दै अबको पाँच वर्षमा आर्थिक सांस्कृतिक रुपान्तरणमार्फत फड्को मार्ने बताए । ‘यो देशलाई कांग्रेसले अघि बढाउन सकेन, यो देशलाई अरुले अगाडि बढाउन सकेनन्, कम्युनिस्ट पार्टीले मात्रै अघि बढाउन सक्छ,’ उनले भने, ‘इतिहासले त्यो जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ, अब हामीले काम गरेर देखाउने बेला आएको छ ।’ परिणाम देखिने गरी जिम्मेवारी पूरा गर्दै जाने हो भने पार्टी र सरकारको प्रतिष्ठा उचाईमा पुग्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनमा रौतहटको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ‘रौतहट प्रगति र परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएको जिल्ला हो,’ पौडेलले भने ।
नेपालमा भएका परिवर्तनहरुमा कम्युनिस्ट पार्टीको सदैव अग्रणी भूमिका रहेको उल्लेख गर्दै पौडेलले समृद्धिको अभियानको नेतृत्व गर्ने कार्यभार पनि नेकपाकै काँधमा आएको बताए । निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी आएको उनको भनाई थियो ।
‘निर्वाचनका बेला हामीले जनतासँग धेरै फराकिला प्रतिबद्धता व्यक्त गरेका छौं,’ पौडेलले भने, ‘ति प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनद्वारा सामाजिक आर्थिक रुपान्तरणलाई सुनिश्चित गर्ने, हरेक नेपालीलाई सुखी जीवनको ज्ञारेन्टी गर्ने, मुलुकलाई सामाजिक न्यायतिर लिएर जाने र समाजवादको आधार तयार गर्ने गहकिलो जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’
त्यस्तै पूर्वमन्त्री तथा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपाले लिएको आर्थिक समृद्धिको अभिभारा पूरा गर्न जनताको दरिलो साथ आवश्यक रहेको बताए । ‘हिजो हामीले राजा हटाउँछौं, राजतन्त्र फाल्छौं भन्दा धेरैलाई अस्वाभाविक लाग्थ्यो । तर जनताको साथ पाएपछि राजतन्त्र फाल्न हामी सफल भएका छौं,’ साहले भने, ‘त्यसै गरी समृद्ध नेपालको संकल्प सबै नेपाली जनताले गर्नुपर्छ । सरकार र नेकपाले मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव छैन ।’
नेपालका हरेक राजनीतिक परिवर्तनमा रौतहटले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै साहले समृद्ध नेपाल निर्माण गर्ने संकल्पमा पनि रौतहटको अग्रणी भूमिका रहनुपर्ने बताए । ‘तपाईंमा उत्साह आएन भने, हार्दिकता आएन भने, एकता आएन भने समृद्ध नेपाल निर्माण सहज हुँदैन,’ साहले भने, ‘समृद्धिको अठोट पूरा गर्न हामी हार्दिक हुन जरुरी छ, हामी एक हुन जरुरी छ ।’
रौतहटले ठूला ठूला परिवर्तन गरेर देखाएको साहको भनाई थियो । ‘रौतहटको माटोले भन्छ, रौतहटले जे चाहेको छ त्यो गरेर देखाएको छ,’ उनले भने, ‘हामीले अठोट गर्यौं भने फेरी पनि परिवर्तन सम्भव छ ।’
प्रकाशित समय १५:०७ बजे
















