गृहपृष्ठ शेरको पञ्जामा पावर : विधान मिचेरै शक्तिशाली

शेरको पञ्जामा पावर : विधान मिचेरै शक्तिशाली

शेरबहादुर देउवा । कांग्रेसका असन्तुष्ट नेताका शब्द सापटी लिएर भन्दा विधान नमान्ने, मनलाग्दी गर्ने, पद लोलुप, अराजक, अस्पष्ट र अलोकतान्त्रिक व्यक्ति । तर, कांग्रेसभित्र उनै देउवा सर्वशक्तिमान छन् । उनको शक्ति घटेको छैन, बरु बढिरहेको छ । त्यसैले पार्टीका असन्तुष्ट नेताको आलोचनाले उनलाई छुने गरेको छैन ।

हरेक भाषणमा देउवाको आलोचना
स्वर्गीय गणेशमान सिंहको स्मृति दिवसको अवसरमा हालैमात्र आयोजित कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलादेखि युवा नेता गगन थापासम्मले देउवाका कारण पार्टी खतरामा परेको टिप्पणी गरे । त्यतिमात्रै होइन, उनीहरुले देउवाका अलोकतान्त्रिक निर्णयविरुद्ध एकजुट हुन नेता तथा कार्यकर्तालाई आह्वान पनि गरे ।
थापाले देउवालाई अराजक भने । पार्टी उपसभापतिमा गच्छदारलाई मनोनीत गर्ने देउवाको निर्णयलाई उनले अराजकताको संज्ञा दिए । यतिमात्रै होइन, देउवाको कार्यशैली पार्टीका लागि घातक साबित हुने उनले चेतावनी दिए । अबको महाधिवेशनबाट देउवालाई पाखा लगाउन उनले कांग्रेसी युवालाई आह्वान पनि गरे ।

सोही कार्यक्रममा नेता प्रकाशमान सिंहले देउवाविरुद्ध एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘जे मन लाग्यो त्यही गर्ने सभापतिको शैलीलाई रोक्न हामी सबै एकजुट हुनुपर्छ,’ उनले भने । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भाषणका अधिकांश शब्द देउवाको आलोचनामै खर्च गर्ने गरेका छन् ।

आलोचनाले छुँदैन देउवालाई
स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेसभित्र एउटा ठूलै समूह देउवालाई जसरी पनि पाखा लगाउने उद्देश्यले मैदान उत्रिएको छ । तर, देउवा भने झन्–झन् शक्तिशाली बनेका छन् । उनले हालैमात्र संसदीय दलका उपनेता विजय गच्छदारलाई पार्टीको उपसभापतिमा मनोनीत गरिदिए । कांग्रेस विधानमा एक मात्र उपसभापति रहने व्यवस्था छ । तर, तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकताको पूर्वसहमतिअनुसार गच्छदारलाई उपसभापति बनाइएको देउवानिकट केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

देउवाले गच्छदारलाई उपसभापति मनोनीत गर्ने निर्णय केन्द्रीय समिति बैठकबाटै गराएका हुन् । तर, असन्तुष्ट नेताहरुले बाहिर यो निर्णय प्रक्रियासंगत नभएको भन्दै विरोध गरिरहेका छन् । ‘सभापतिले जे मन लाग्यो त्यही गर्दैहुनुहुन्छ,’ नेतृ सुजाता कोइरालाले भनिन्, ‘पार्टीमा सुझाव, सल्लाह गर्नुपर्छ, विधानअनुसार काम गर्नुपर्छ भन्ने हेतु उहाँले किन राख्नुहुन्न ?’
त्यसो त, विधानविपरितका गतिविधि गरेको भन्ने आरोप देउवालाई पहिलोपटक लागेको भने होइन ।

विधानतः महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रैमा पदाधिकारी, केन्द्रीय समितिसहित सबै विभागलाई पूर्णता दिनुपर्नेमा देउवाले झण्डै दुई वर्षपछि मात्र संसदीय समितिलाई पूर्णता दिएका थिए । त्यसमा पनि देउवाले विधान मिचे । विधानमा १४ सदस्यीय संसदीय समिति रहने व्यवस्था भए पनि उनले २२ सदस्यीय समिति बनाइदिए ।

तीन तहको निर्वाचनअघि देउवाले पार्टी विधान उल्लंघन गर्दै टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाइदिए । विधानतः १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्र बनाएनन्, निर्वाचनमा उम्मेदवार हुनसमेत अयोग्य नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरिदिए ।

देउवालाई कमजोर बनाउने प्रयास
देउवालाई कमजोर साबित गर्न नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौलासहित केही युवा नेताले विशेष महाधिवेशनको माग राखे । विशेष महाधिवेशन नबोलाइए विधानबमोजिम आफूले बोलाउने भन्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्ने उद्घोष गगन थापालगायत सात जना युवा केन्द्रीय सदस्यको टोलीले गर्यो । सभापति देउवाविरुद्ध पार्टीभित्रबाट भएको यो अभियान मिडियामा र सडकमा छताछुल्ल भयो । पार्टीभित्र देउवा कमजोर भएको अनुमान लगाउनेहरु पनि बढी नै देखिए । तर, संसदीय दलको निर्वाचनले त्यो अनुमान गलत सावित गरिदियो । देउवा पक्षका सांसद सबै इन्ट्याक रहे । पौडल र सिटौला पक्षका केही सांसदहरूले समेत देउवालाई साथ दिए ।

देउवाले यसअघिका निर्वाचनमा भन्दा पनि फराकिलो मत अन्तरमा संसदीय दलको नेता पदमा चुनाव जिते । जसरी ०५१, ०५४ र ०६४ सालको पराजयमा गिरिजाप्रसाद कोइराला एक्ला कारक थिए त्यसरी ०७४ सालमा सम्पन्न तीन वटा तहको निर्वाचनमा पार्टी पराजित हुनुमा सभापति देउवामात्रै कारक होइनन् भन्ने निष्कर्षमा कांग्रेसका कतिपय नेता र कार्यकर्ता कन्भिन्स हुँदै गएको देखिन्छ ।

देउवाले पार्टी कमजोर हुनुको कारण आफूमात्रै होइन भन्ने सन्देश आमकार्यकर्तामाझ पुर्याएकाले पनि ईतरपक्षको आलोचनाले उनलाई छुन नसकेको बताउँछन्, कांग्रेसका जानकार विन्दुकान्त घिमिरे । ‘देउवाले स्थानीय निर्वाचन हाँक्ने कमान्डर वरिष्ठ नेता पौडेललाई दिएको र सहमतिका आधारमा उम्मेदवार चयन गरिएको कुरा बाहिर ल्याए,’ घिमिरे भन्छन्, ‘यसलाई पौडेल पक्षले होइन भन्न सकेन ।’

उनका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि देउवाले प्रचारप्रसार समितिको संयोजक युवानेता गगन थापालाई तोकेका थिए भने संसदीय समिति गठन गरेर उम्मेदवार चयन गरेका थिए । प्रत्यक्षतर्फ पौडेल समूहलाई ३५ प्रतिशत र सिटौला समूहलाई पाँच प्रतिशत दिएका थिए । उम्मेदवार चयन प्रक्रियामा आफैँ संलग्न भएका पौडेल आफैँ पनि पराजित भए । जसका कारण पौडेलद्वारा देउवा उपर गरिएको विरोधको स्वर फितलो हुन पुग्यो ।

यसैगरी चुनाव प्रचारप्रसार समितिको संयोजकको रूपमा युवा नेता गगन थापाले निर्वाह गरेको फितलो भूमिका पनि कांग्रेस पराजयको एक कारण रहेको कुरा देउवा पक्षधरहरूले सशक्त रूपमा उठाए । जसका कारण गगनद्वारा देउवा उपर गरिएको विरोधको स्वरलाई पनि कार्यकर्ताहरूले रुचाएनन् ।

कतिपय विश्लेषकका अनुसार संसदीय दलको निर्वाचनमा देउवाले विगतमा भन्दा फराकिलो मत अन्तरले चुनाव जित्नुको मुख्य कारण यही हो । समय बित्दै जाँदा नेपाली कांग्रेसभित्र देउवा विरोधी स्वरको भोल्युम बढे पनि स्वरकर्ता भने पातलिँदै गएका छन् । सुरुको चरणमा देउवाका विपक्षीहरूले तत्काल राजीनामा दिएर नेतृत्व हस्तान्तरणको माग गरेका थिए । दोस्रो चरणमा पुगेपछि विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरणको माग गरे । तेस्रो चरणमा पुगेपछि अर्ली महाधिवेशनको माग सुरु भयो । यसलाई पनि देउवाले खासै गम्भीर रुपमा लिएका छैनन् । हालैको केन्द्रीय समिति बैठकबाट देउवाले महासमिति बैठकको मिति नै सारिदिएका छन् । मंसिर ५ देखि ९ सम्म हुने भनिएको बैठक सारेर मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म हुने गरी सारिएको छ । उनले विधान मिचेका कुरा पनि सत्य हुन् ।

विपक्षी र तिनीहरुका तर्क कमजोर हुँदा विधान मिचेरै देउवाले शक्ति आर्जन गरिरहेका छन् । विधान मिचेर गरेका निर्णयले देउवालाई फाइदा पुर्याए पनि कांग्रेसलाई भने बद्नाम गराएको छ । घरझगडा बढिरहेको छ । अरुलाई लोकतन्त्रको पाठ सिकाउने कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ ।

मुख्य विपक्षीको भूमिका कमजोर बनेको छ । आमकार्यकर्ता भने यी सब देखेर निराश बनेका छन् । यस्तो निराशा जिल्लाको पार्टी संरचनामा देख्न सकिन्छ । टुटफुट र गुटउपगुटले तल्लो तहमा काग्रेस रन्थनिदै गएको छ । केन्द्रमा सभापतिले नै विधान मिचेर निर्णय गर्दा तल्ला कमिटीहरुमा पनि त्यस्तै प्रवृत्ति बढेको बताइन्छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु