गृहपृष्ठ धर्म प्रचार कार्यक्रमले यात्रुलाई सास्ती, उडान समेत प्रभावित
धर्म प्रचार कार्यक्रमले यात्रुलाई सास्ती, उडान समेत प्रभावित
तस्बिर : रासस
एसिया प्यासफिक समिटमा सहभागी हुने पाहुनाको सवारीले सडकदेखि हवाइयात्रु समेत प्रभावित भएका छन् । शुक्रबारबाट काठमाडौंमा हुने समिटमा सहभागी हुन पाहुना आउने क्रम सुरु भएसँगै सडकदेखि हवाई यात्रुसमेत प्रभावित भएका हुन् । एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सडक सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । विदेशी पाहुना आउने क्रममा हवाई आगमन प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

विदेशी पाहुना आउने जाने समयमा नियमित उडान तालिका प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बिहीबारदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । यो क्रम सम्मेलन सकिएको भोलीपल्ट अर्थात १६ गतेसम्म जारी रहने छ । बिहीबार बिहान ११ बजे म्यानमारकी स्टेट काउन्सिल र तथा विदेशमन्त्री आङसाङ सुकी र पौने १२ बजे कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन सहितका उच्च पदाधिकारी आएका छन् । उनीहरु सवार बिमान आउनु आधा घण्टा अघिदेखि अबतरण भएको १५ मिनेटसम्म बिमानस्थलमा नियमित उडान बन्द गरिएको थियो ।
विमानस्थलले भने अति विशिष्ट व्यक्तिको सुरक्षाको लागि नियमित उडान केही हेरफेर गरेको जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले न्यूज कारबोबारसँग भने, ‘विशिष्ट पाहुनाको सुरक्षाको लागि उहाँहरु आउने आधा घण्टाअघि र ओर्लिएको १५ मिनेटसम्म नियमित उडान रोकेका हौं ।’ यसअघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय अति बिशिष्ट व्यक्तिको उडान तथा अवतरण हुँदा विमानस्थलले उडानअघि र पछि गरेर आधा घण्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवतरण रोक्दै आएको थियो ।
सार्वजनिक तथा निजी सवारी साधनमा पनि सरकारले बिहीबारबाट १६ गतेसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिसकेको छ । यता विहीबारबाट सूरु भएको जोर–बिजोर प्रणालीका कारण यात्रुले सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् । १६ गतेसम्म लागू हुने जोर बिजोर प्रणालीका कारण यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । घन्टौ कुर्दा पनि गाडी नपाएको यात्रुहरुले गुनासो गरेका छन् ।
काठमाडौंमा बिहीबार जोर नम्बर भएका सवारीलाई रोकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार गृहमन्त्रालयको आदेशमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सवारी चल्नेछन् । जसअन्तर्गत बिहीबार १३ गते जोर नम्बरको प्लेट भएका सवारी चलेका छैनन् ।
बिहीबार चलेका ट्याक्सी पनि मिटरमा जान मानेका छैनन् । ट्याक्सीले जथाभावी भाडा असुलेको यात्रुको गुनासो छ । महानगरी ट्राफिक प्रहरी महाशाखाका अनुसार विहीबार जोर–बिजोर लागू भएकाले ट्राफिक जामको समस्या निकै कम छ ।
तस्बिर : रासस
प्रकाशित समय १३:१८ बजे
















