गृहपृष्ठ मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली
मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने बताएका छन् ।
झापाको भद्रपुर–५ स्थित मेची पुलको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने संकल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।’ रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको दावी गरे ।
सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको प्रधानमन्त्री ओलीले बताए । मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको ओलीको भनाइ थियो । ‘अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’, उनले भने, ‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’
तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । ३३ करोड रुपैयाँकोे लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बंगाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।
प्रकाशित समय ०७:१६ बजे
















