गृहपृष्ठ प्रतिनिधिसभामा आज फेरि प्रश्नोत्तर, ५ मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभामा आज फेरि प्रश्नोत्तर, ५ मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

पाँच वार्षिक प्रतिवेदन पेश हुँदै

Samsad-Bhawan-newskarobar

प्रतिनिधिसभाको आज बस्ने बैठकमा पाँच जना विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

दिउँसो एक बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा पाँच मन्त्रीले जवाफ दिने कार्यसूची छ । गृह मन्त्री रामबहादुर थापा, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सांसद्ले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा यसअघि प्रधानमन्त्री र सांसदबीच नेपालको संसदीय इतिहासमै पहिलोपटक सिधा सवाल जवाफ भएको थियो । अब मन्त्री र सांसदबीच पनि सवालजवाफ गर्ने परम्पराको सुरुवात गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षाको विषयमा सांसदले गरेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदैछन् । थापालाई कांग्रेसका तीन र नेकपाका एक सांसदले संसद् प्रश्न दर्ता गराएको सचिवालयले जानकारी दिएको छ । कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विषय र मुलुकमा बलात्कार हत्या हिंसामा कमी नआउनुको जवाफ गृहमन्त्रीसँग माग्नेछिन् ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने दुई जनालाई प्रहरीले गरेको इन्काउन्टरका विषयमा जवाफ माग्ने बताइएको छ । सांसद रामबहादुर विष्टले पनि अछाममा भएको हत्याकाण्डको अनुसन्धानका विषयमा प्रश्न दर्ता गरेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । यस्तै नेकपा सांसद घनश्याम खतिवडाले मोरङ लेटाङमा विद्यालयको खानेपानीमा विषादी मिसाउनेलाई कारबाही कहाँ पुग्यो भनी प्रश्न दर्ता गराएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सांसद सरिता न्यौपानेले हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आवासगृह बनाउने योजना कहाँ पुग्यो भनेर प्रश्न राखेकी छन् ।

अर्थमन्त्री युवराज खतिवडालाई कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा बैंक शाखा विस्तारका बारेमा जवाफ माग गरेका छन् भने कांग्रेसकै सांसद डिला संग्रौलाले सामान बेचेको भरमा विदेश घुमाउने बहुराष्ट्रिय कम्पनीको प्याकेजले नेपाली मुद्रा बाहिरिएको र सो कार्यलाई रोक्न अर्थमन्त्रीका योजना के छन् भन्दै प्रश्न गरेकी छन् ।

सत्तारुढ सांसद सांसद खगराज अधिकारीले वनमन्त्री शक्ति बस्नेतलाई कास्कीमा प्राणी उड्डयन बनाउने विषयबारे प्रश्न राखेका छन् । मन्त्रीहरूले रोस्ट्रममै गएर सांसदका प्रश्नको जवाफ दिनुपर्नेछ । सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने सचिवालयले व्यवस्था गरेको छ ।

यसैबीच, आजको प्रतिनिधिसभा बैठकमा लोक सेवा आयोगको ५९ औं वार्षिक प्रतिवेदन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन, सुपरिवेक्षण र समन्वय) विधेयक, प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु