गृहपृष्ठ प्रचण्डको चेतावनी- शान्ति सम्झौताका प्रतिवद्धता लागू नगरिए पुन: द्वन्द्व हुन्छ
प्रचण्डको चेतावनी- शान्ति सम्झौताका प्रतिवद्धता लागू नगरिए पुन: द्वन्द्व हुन्छ
स्थानीय तह र प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेकामा सरकारको आलोचना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा गरिएका प्रतिवद्धता लागू नगरिए नचाहँदा नचाहँदै पनि देशमा पुनः द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति पश्चिम रुकुमले काठमाडौंमा आयोजना गरेको न्यायिक समितिः ‘कार्यविधि र प्रक्रिया’ पुस्तक लोकार्पण समारोहमा शुक्रबार प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले अहिलेकै अवस्था निरन्तर रहेमा मधेसमा एक ढंगले र पहाडमा अर्को ढंगले विकराल स्थिती उत्पन्न हुने औल्याए । उक्त परिस्थिति उत्पन्न भए विगतमा जस्तै १२ बुँदे र शान्ति सम्झौता जस्तै सहज तरिकाले समाधान ननिस्कने चेतावनी उनले दिए । ‘शान्ति प्रक्रियामा हिजो लडेकाहरु अहिले निधार खुम्चाएर सोच्नुपर्ने अवस्था आएको छ,’ प्रचण्डले भने, ‘हल्का रुपमा सोचिरह्यो भने देशलाई गाह्रो पर्न सक्छ ।’
माओवादी समाप्त भयो भनेर नसोच्न उनको चेतावनी थियो । ‘माओवादीलाइ कसैले सिध्याइयो भन्ने ठानेको छ भने अर्को माओवादी जन्मन्छ,’ प्रचण्डले भने, ‘विभेदमा परेकालाई अधिकार दिने कुरालाई हल्का रुपमा लिएमा दुर्भाग्य हुन्छ ।’ संविधानले प्रत्याभूत गरिएका अधिकार हनन हुने परिस्थिति आए स्थिति भयानक हुने उनको चेतावनी छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रचण्ड सरकारविरुद्ध समेत खनिए । उनले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गरे । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको आरोप छ ।
प्रकाशित समय १७:५१ बजे
















