गृहपृष्ठ घोषणामै सीमित सत्तारूढ नेकपाको घोषणापत्र

घोषणामै सीमित सत्तारूढ नेकपाको घोषणापत्र

तत्कालीन वाम गठबन्धनले जनतासामु गरेका प्रतिबद्धता जो पूरा भएनन्

दुई तिहाई बहुमत प्राप्त शक्तिशाली वर्तमान सरकारले केही दिनअघि एक वर्ष पूरा गरेको छ । तर, गएको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन घोषणा गर्दै सार्वजनिक गरेको प्रतिबद्धताहरु पूरा गर्न भने सरकार असफल भएको छ । घोषणापत्रमा धेरै विषय समेटेर चुनावमा भोट मागे पनि जनताले मत दिएर निर्वाचत गराएपछि तत्कालीन नेपका एमाले र माओवादी एकता भई बनेको नेकपा आफ्नै घोषणापत्र पूरा गर्नबाट चुकेको छ ।

तत्कलीन नेकपा एमाले र माओवादी केन्द्रले एकैसाथ भएको प्रतिनिधी र प्रदेशसभाको निर्वाचमा जाँदा बाम गठबन्धन बनाउदै संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए । सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउनेदेखि भूकम्पपीडित, बाढीपीडित, पहिरोपीडित, घरबारविहीन सबै परिवारलाई घर निर्माणमा सहयोग गर्ने बाचा भने अधुरै राखेका छन् । जो उनीहरुले सरकार गठन भएको बर्षदिन भित्रै सक्ने प्रतिबद्धता गरेका थिए ।

विपक्षी दल कांग्रेसले त अघिल्लो वर्ष दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न आइपुगेका केपी शर्मा ओलीले अपेक्षाकृत काम गर्न नसक्दा जनताको विश्वास गुमाएको टिप्प्णी गरेको छ । आफ्नो आयु ५ वर्ष भएकाले अहिले आधार तयार गर्ने काम भईरहेको दावी गर्ने नेकपा सरकारले घोषणा गरेको तर गर्न नसकेका कामहरु निम्न छन् ।

 

जनताको जनजीविकासँग प्रत्यक्ष जोडिएका घोषणाहरु

जनताको दैनिक जनजीविकासँग सम्बन्धित विषयका काम गर्न नसक्दा सरकार आलोचित बनेको छ । विषेशगरी सरकार बनेको एक वर्षभित्र भूकम्पपीडित, बाढीपीडित, पहिरोपीडित, घरबारविहीन सबै परिवारलाई घर निर्माणमा सहयोग गरिने भनिए पनि वास्तविकता त्यस्तो भएन ।

भूकम्पपछिको पुनर्निर्माणको लागि लाभग्राही सूचीमा ८ लाख ११ हजार २ सय २१ घरपरिवार छन् । भूकम्प प्रभावित नागरिकका घर निर्माण गर्न भर्खरै तेश्रो किस्ता वितरण सुरु भएको छ । ५० प्रतिशत भन्दा बढी भूकम्पपीडितले घर निर्माण गर्न बाँकी छ ।

वाम गठबन्धनको घोषणापत्रको बहुचर्चित विषय सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याइने थियो । ०५१ सालको कम्युनिस्ट सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरिएकोमा अहिले यसलाई अझै विस्तार गर्ने भनिएको थियो । तर अहिले यही कुराले सरकार अप्ठ्यारोमा छ ।

पूर्व घोषणाअनुसार नेकपा सरकारले वृद्धभत्ता बढाउन नसकेपछि सुरुदेखि नै आलोचित बनेको छ । पूर्ववर्ति शेरबहादुर देउवा सरकारले वृद्धभत्ता प्राप्त गर्ने उमेर ६५ वर्ष बनाएकोमा समेत यो सरकारले त्यसलाई खारेजी गरिदिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले एक वर्षभित्रै प्रतिस्थापन गरिने बाम गठबन्नधको घोषणापत्रमा उल्लेख छ । यो विषय कतिपयले पत्याए र कतिपयले नपत्याएरै पनि बाम गठबन्धनलाई भोट हालेर जिताए ।

तर, वर्ष दिनमा यो विषयमा नेकपा सरकार पूर्णतया असफल भएको देखिएको छ । सरकार बनेको एक वर्षमा विद्युतीय सवारी साधन सञ्चालन गर्न सरकारले झिनो पहल समेत गर्न सकेको छैन । लुम्बिनी विकास कोषका लागि ल्याइएका ५ बसहरूमा समेत चल्न सकेका छैनन् । गत महिना मन्त्रिपरिषद्ले ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरे पनि त्यो निर्णय अझै कति वर्षपछि कार्यान्वयन हुन्छ भन्ने यकिन छैन ।

यस्तै एक वर्षभित्र सम्पूर्ण नागरिकलाई विद्युतीय राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएको थियो । यस्तै गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइने घोषणा थियो । तर, २०६७ देखि पहल भएको यो विषय अझै अनिश्चित छ ।

केही दिनअघि पाँचथरका एक वृद्धालाई हस्तान्तरण गरी सुरु भएको यो कार्यक्रम अहिले रोकिएको छ ।

 

संघीयता कार्यान्वयनका सवालमा

यस्तै प्रदेश र स्थानीय तहका सहरी केन्द्रमा प्रदेश सरकारको सचिवालय, प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यलय एक वषभित्र निर्माणका लागि गुरुयोजना बनाइने भनिएको थियो । यस्तै प्रदेशसभा भवन, उच्च अदालतलगायत स्थानीय तहमा जनप्रशासन भवन, सभा भवन, विभागीय भवन, विद्यालय महाविद्यालय, एकीकृत सेवा केन्द्र, अस्पताल, सामुदायिक सेवा भवन र सुरक्षा चौकीहरु निर्माणका लागि गुरुयोजना निर्माण गरिनेछ भनिएको थियो ।

तर, वितेको वर्ष दिनमा प्रदेश सरकारको काम कारबाही जनताले अनुभूति गर्न सकेनन् । ७ मध्ये ४ वटा प्रदेशले त आफ्नो नामाकरण नै गर्न सकेका छैनन् । यता स्थानीय तहका सहरी केन्द्रमा प्रदेश सरकारको सचिवालय स्थापनातर्फ कुनै पहल नै हुन सकेको छैन ।

सरकार बनेको पहिलो वर्षमै पूर्व-पश्चिम राजमार्गको समानान्तर हुने गरी र रसुवागढी-काठमाडौं-वीरगञ्ज ७६५ केभी विद्युत प्रसारणलाइन निर्माण सुरु गरिने वाम गठबन्धनको घोषणापत्रमा देख्न सकिन्छ । तर, वाम गठबन्धनले प्रस्तुत गरेको प्रतिवद्धता अनुसार पूर्व-पश्चिम राजमार्गको समानान्तर प्रसारणलाइन बनाउने कार्यमा केही पहल मात्र भएको छ । तर रसुवागढी-काठमाडौं-वीरगञ्ज ७६५ केभी विद्युत् प्रसारणलाइनको निर्माण कार्यप्रति सरकारले कुनै चासो दिएको छैन ।

यसमा नेकपा सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पनि बजेट भने छुट्याएन ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु