गृहपृष्ठ कार्यदलबारे नेकपामा विवाद, ओली भन्छन्– काम गर्न सकेन, विघटन गरौं
कार्यदलबारे नेकपामा विवाद, ओली भन्छन्– काम गर्न सकेन, विघटन गरौं
कार्यदलले माग्यो सात दिन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सांगठानिक एकता पेचिलो बनेको छ । समायोजनका लागि गठित कार्यदलले एकतालाई अन्तिम रुप दिन नसकेपछि नेकपामा विवाद चर्केको हो ।
कार्यदलको म्याद थप गर्ने नगर्नेबारे नेकपामा विवाद छ । गृहमन्त्रीसमेत रहेका संयोजक रामबहादुर थापा नेतृत्वको कार्यदल विघटन गर्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव राखेका छन् । विघटनको प्रस्तावमा बहुमत सदस्यले विमति जनाएका छन् ।
सचिवालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल सदस्यहरुसँग छलफल गरेको थियो । बैठकमा प्रधानमन्त्रीसँगै नेता इश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिए भने कार्यदलका बहुमत सदस्य भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको जवाफ फर्काएको नेकपा स्रोतले जनाएको छ ।
कार्यदलले भने प्रतिवेदन तयार पार्न एक साताको समय माग गरेको छ । यसअघि कार्यदलले अधुरो प्रतिवेदन तयार पारेको थियो । बैठकपछि कार्यदल सदस्य योगेश भट्टराईले भने, ‘प्रतिवेदन बनाउन एक साताको समय मागेका छौं, सो समयमा प्रतिवेदन तयार गर्छौ ।’ शुक्रबार बस्ने सचिवालय बैठकले सो विषयमा निर्णय गर्ने बताइएको छ ।
नेकपाले तल्ला कमिटी एकता गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो । रामबहादुर थापाको संयोजकत्वमा बनाइको कार्यदलमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् । कार्यदललाइ १५ दिनको समयसीमा तोकेर एकताको प्रस्ताव तयार पार्ने भनिएको थियो ।
प्रकाशित समय ११:५२ बजे
















