गृहपृष्ठ अब दुर्इ तिहाइकाे सरकार, फाेरमले सहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने

अब दुर्इ तिहाइकाे सरकार, फाेरमले सहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने

काठमाडाैं- संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग संविधान संशोधनको सुनिश्चिततासहितको दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी हुने निश्चित भएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीबीच भएको सहमतिमा संविधान संशोधन गर्ने र फोरम नेपाल संघीय सरकारमा सहभागी हुने उल्लेख छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपत्रको एक नम्बर बुँदामा ‘संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधानसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने, सरकारद्वारा गर्न सकिने कामहरू नीति तथा कार्यक्रममा समावेश गरिने, उपरोक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ’ उल्लेख छ ।

यसैगरी, दोस्रो बुँदामा उपरोक्त सहमतिका आधारमा फोरम नेपाल सरकारमा सामेल हुने उल्लेख छ । नेकपा अध्यक्ष ओली प्रधानमन्त्री भएको १०३ दिनपछि फोरम नेपाल सरकारमा सामेल हुने सहमति भयो ।

प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष दाहालले सरकार निर्माण भएदेखि नै फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल एवं वार्ता गरिरहेका थिए । फोरम नेपाल र राजपा नेपालले संविधान संशोधनमा सरकारको लिखित प्रतिबद्धता माग गरेका थिए ।

राजपाको समर्थनमा प्रदेश २ मा प्रादेशिक सरकार बनाएको फोरमलाई त्यहाँ नेकपाले आइतबार समर्थन फिर्ता लिएको भोलिपल्टै संघीय सरकारमा फोरम नेपाल सहभागी हुने सहमति भएपछि प्रदेश सरकार पनि संकटबाट मुक्त भएको छ । प्रदेश २ मा सरकारबाहिर रहेको नेकपाले सरकारमै सहभागी हुने गरी छलफल भइरहेको छ ।

नेकपा र फोरम नेपालबीच भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ । तर यस विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ । दुवै दलका नेताहरूले आपसी सहमतिमा मन्त्रालय र संख्या टुंगो लगाउन बाँकी छ ।

अहिले प्रधानमन्त्री ओली आफैंसँग रहेको सहरी विकास र स्वास्थ्य तथा जनसंख्यासहित एक राज्यमन्त्री फोरमलाई दिने तयारी भएको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले फोरम नेपाल सरकारमा सहभागी हुने बताउँदै पार्टीको बैठकले मन्त्रीकोे टुंगो लगाउने बताए ।

संघीय समाजवादी फोरमले मातृ भाषाहरुलाई संविधानको अनुसुचिमा राख्नुपर्ने माग राखेकाे छ । उसले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागे उनलाई अंगिकृत नागरिकता दिनुपर्ने माग पनि उसले सरकारसंग राखेकाे छ । यस्तै गरी उसले प्रदेशको सीमासम्बन्धी आयोग गठन गर्नुपर्ने फाेरमकाे माग छ । उसले प्रदेशकाे  सिमा हेरफेर गर्नसकिने व्यवस्था गरेर अायाेग बनाउनुपर्ने माग राखेकाे छ ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको फोरममा एक मन्त्री र राज्यमन्त्री को हुने भन्नेमा विवाद छ । मन्त्रीका लागि पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, महासचिव रामसहाय यादवका साथै सचिव महम्मद इस्तियाक राईलगायतकाले इच्छा व्यक्त गरेका छन् ।

रेणु यादवको समूहले श्रेष्ठलाई कुनै हालतमा मन्त्री बनाउन नहुने भन्दै यसअघि फोरम नेपालको बैठकमै विरोध गरेपछि पार्टी अध्यक्ष दोधारमा परेका थिए । महासचिव रामसहाय र राईको विरोधमा कोही नदेखिए पनि पाएको मन्त्री एउटै समुदाय एवं क्षेत्रको नभई फरक फरक समुदाय एवं क्षेत्रको हुनुपर्ने श्रेष्ठ समूहको माग छ । फोरम नेपाल संघीय सरकारमा सहभागी हुने सुनिश्चित भएपछि अर्को राजपा अलमलमा छ ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग १७४ सिट छ भने फोरम नेपालसँग १६ र राजपा नेपालसँग १७ सिट छ । सरकारमा दुर्इ तिहाइ पुग्नका लागि १ सय ८३ सांसद भए पुग्छ ।  अब फोरमसहित सरकारमा सहभागी पार्टीको मात्रै १९० सिट हुनेछ, जुन प्रतिनिधिसभाको जम्मा संख्याको ६९.०९ प्रतिशत हो । सरकारमै प्रतिनिधित्व गर्नेको मात्रै दुई तिहाइ पुगेको छ । ओली सरकारले यसअघि नै दुई तिहाइ बढी विश्वासको मत पाइसकेको थियो ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु