गृहपृष्ठ विमानस्थलको ‘विशिष्ट कक्ष’ प्रयोग गर्न नपाएपछि भीम रावल आक्रोशित

विमानस्थलको ‘विशिष्ट कक्ष’ प्रयोग गर्न नपाएपछि भीम रावल आक्रोशित

काठमाडौबाट धनगढी पुगेका नेता भीम रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि आक्रोस व्यक्त गरेका छन् ।

शनिबार विहान काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९ः१५ मा धनगढी पुगेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले पत्रकार सम्मेलनको आयोजना गरेर आक्रोश व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफूले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएकोमा गुनासो नभए पनि आफूलाई सुरक्षा व्यवस्थाबारे जानकारी नदिएकोमा आक्रोश व्यक्त गरे । उनले विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोबाट विमानस्थलबाट बाहिर निस्कनु परेको गुनासो गरे । उनले पत्रकार सम्मेलनमा पटक–पटक आफूमाथि त्यस्तो व्यवहार किन गरिएको भन्ने जिज्ञासा राखे ।

शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्य सूचि रहेको थियो । राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जादै थिइन् । सोही कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाई गरिएको थियो ।

तर, निर्धारित कार्यक्रमअनुसार आफू धनगढी आउने पार्टीका नेता कार्यकर्तालाई जानकारी भए पनि आफूलाई पार्टीले राष्ट्रपतिको कुनै कार्यक्रमबारे जानकारी नगराएको भन्दै नेता रावलले विशिष्ट कक्षमा को–को, कस्ता–कस्ता व्यक्ति जान पाउछन ? भन्ने सूची बनाइयो र त्यसमा हाम्रो पद परेन भने सर्वप्रथम त्यो कार्यान्वयन गर्न आफू तयार रहेको बताए ।

त्यस्तै अर्को प्रशंगमा बोल्दै इन्चार्ज रावलले एमसिसीमा जनताको चाँसो बढेकोमा खुशी व्यक्त गरे । उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताउँदै पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा आफू धेरै नबोल्ने बताए ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु