गृहपृष्ठ वीरेन्द्रनगरमा चार सय शय्याको क्वारेन्टाइन निर्माण
वीरेन्द्रनगरमा चार सय शय्याको क्वारेन्टाइन निर्माण
फाइल तस्बिर
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ४ सय शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकामा रहेको खुल्ला मञ्चमा क्वारेन्टाइन स्थल निर्माण गरिएको हो ।
शुक्रबार बसेको कर्णाली प्रदेश विपत् व्यस्थापन परिषद् र कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको सयुक्त बैठकले गरेको निर्णयअनुसार खुल्ला मञ्चमा क्वारेन्टाइन निर्माण गरिएको कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
उनले हालको लागि ४ सय शैय्या क्षमताको मात्रै क्वारेन्टाइन निर्माण गर्ने र संक्रमणको अवस्था हेरी थप ६ सय शय्यासमेत निर्माण गर्ने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको क्षेत्रमा अवस्था हेरी थप ६ सय शय्या क्वारेन्टाइनको निर्माण गर्ने तयारी गरेको उनले बताए ।
जुनसुकै क्षेत्रबाट आएको भए पनि कर्णालीमा प्रवेश गर्नेहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उनले बताए । ‘समितिको आज बसेको बैठकले वडा स्तरसम्म क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘आजै पालिका तथा वडा स्तरसम्म निर्देशन गरिसकेका छौं ।’
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पालिका र वडा स्तरको समिति निर्माण गरी गाउँमासमेत क्वारेन्टाइन निर्माण गर्न अनुरोध गरिएको मन्त्री रावलले बताए । गाउँमा संक्रमण देखिएको खण्डमा वीरेन्द्रनगरमा निर्माण गरिएका क्वारेन्टाइनमा समेत राखिने उनले बताए ।

रावलका अनुसार आइतबार बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन उच्च स्तरीय समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनाका पृतनापति सरोजप्रताप रानाको संयोजकत्वमा दिएको छ ।
यातायात व्यवस्थाका लागि पूर्वाधार उपसचिवको संयोजकत्व, मेडिकल सामाग्रीको व्यवस्थाको लागि सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्व र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयोजकत्वमा उपसमिति गठन गरिएको उनले बताए ।
प्रकाशित समय १३:३९ बजे
















