गृहपृष्ठ ‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : महरा
‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : महरा
फाइल तस्बिर
सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले विहिबार घोराहीमा अायाेजना गरेको पत्रकार सम्मेलनमा उनले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने बताएका हुन् ।
महराले दाङको समृद्धि र विकासका लागि सरकारले सडक सञ्जाल, कृषि, सिँचाइ, पर्यटनलगायत पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गरे । उनले तुलसीपुर विमानस्थलको विकल्पमा भन्दा पनि देशकै लागि आवश्यक पर्ने अर्काे अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा बनाउन सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिएका थिए ।
महराले सरकारले घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकलाई मदन भण्डारी मार्गका रुपमा अघि सारेको बताए । उनले धार्मिक पर्यटन स्वर्गद्वारीलाई कोइलावास नाकासँग तथा पर्यटकीय केन्द्र रारा र लुम्बिनीलाई जोड्ने गरी सडक सञ्जालको विकासका लागि आफूले योजना अघि बढाएको दावी गरे ।
सभामुख महराले संघीयता कार्यान्वयनका लागि झन्डै एक सय भन्दा बढी कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई स्थानीय तहले सार्थक बनाउन सक्नुपर्ने उल्लेख गरे ।
स्थानीय तहको मुख्य कार्यभार जनताको आयस्तर माथि उठाउने रहेकाे बताएका उनले साेहि अनुरुप बजेट विनियोजन गर्न स्थानीय सरकारलाई आग्रहसमेत गरे ।
(रासस)
प्रकाशित समय १७:५६ बजे
















