गृहपृष्ठ बिरुवा मरे किसानलार्इ सय रुपैयाँ जरिवाना तिराइने

बिरुवा मरे किसानलार्इ सय रुपैयाँ जरिवाना तिराइने

dang-newskarobar

तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो ।

अझै ११ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा छ । कार्यालयले किसानलाई लक्ष्य गरी बिस हेक्टरमा फलफूलका बिरुवा उत्पादन गरेको थियो । आफूले उत्पादन गरेका बिरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले जानकारी दिए ।

वडा कार्यालयबाट सिफारिश लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा बिरुवाका दरले निःशुल्क रुपमा वितरण गरिँदै आएको छ । ‘बिरुवा लगेर जोगाउनेलाई प्रतिबिरुवा एक सय दिएर प्रोत्साहन गर्छौं । यहाँबाट लगेको बिरुवा मरेमा प्रतिबिरुवा एक सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौं,’ उनले भने ।
वितरण गरिएका बिरुवामा सबैभन्दा बढी कागती, कटहर, अमला, लिची, अनार र अम्बा रहेका छन् । केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट बिरुवा जोगाउनेलाई प्रोत्साहन तथा बिरुवा मरेमा कारबाही गर्ने नीति पारित गरेको हो ।

(रासस)

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु