गृहपृष्ठ बुटवल उपमहानगरपालिका आफैंले अटो भिलेज बनाउने

बुटवल उपमहानगरपालिका आफैंले अटो भिलेज बनाउने

auto village-btl-newskarobar

नेपालकै नमुना भनिँदै आएको बुटवलको अटो भिलेज परियोजना बुटवल उपमहानगरपालिका आफैंले बनाउने भएको छ । अटो भिलेजबाट एसियाली विकास बैंक फिर्ता भएपछि बुटवल उपमहानगरपालिकाले सार्वजनिक–निजी साझेदारी मोडलमा आफैं अटो भिलेज बनाउन लागेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अटो भिलेजमा एडीबीको योजनामा रहेको बहुद्देश्यीय भवनको अवधारणा हटाएर पहिलो चरणमा नाली, सडक तथा अन्य आधारभूत पूर्वाधार निर्माण गरिने जानकारी दिए । ‘व्यवसायीको ६० प्रतिशत र बुटवल उपमहानगरपालिकाको ४० प्रतिशत लगानी रहने गरी योजना अब अघि बढ्छ,’ उनले भने । आटो भिलेज कम्पनी निर्माण गरी एकीकृत रुपमा व्यवस्थित अटो व्यवसायका लागि यस्तो प्रकृतिको अवधारणा अघि बढाइएको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवल अटो इन्जिनियर एसोसिएसनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेजमा भएको आम्दानीको ७० प्रतिशत अटो भिलेजकै विकासमा लगानी गर्ने गरी आएको अवधारणा राम्रो बताएको बताएका छन् । एसोसिएसनका निवर्तमान अध्यक्ष तथा मैनावगर अटो भिलेज संघर्ष समितिका अध्यक्ष विश्वराज गैरेले अटो भिलेजमा व्यवसायीको धेरै लगानी भएकाले लगानीको सुरक्षा हुनुपर्ने बताए ।

स्थानीय व्यवसायी विभाजित हुँदा एडीबीले २७ करोड ३३ लाख रुपैयांँको परियोजनाबाट हात झिकेको थियो । मझौला सहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत बुटवल–२, मैनाबगरमा १४ बिघामा रहेको अटो भिलेजमा अटो भिलेज पूर्वाधार, सञ्चालन तथा व्यवस्थापन परियोजना सुरु गर्न आधा दशकदेखि पहल भए पनि व्यवसायी एकमत नहुँदा स्थानीय सहभागिता सन्तोषजनक नभएको भन्दै दातृनिकाय एडीबी पछि हटेको थियो ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु