गृहपृष्ठ लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ
लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ
नेपाल चेम्बर अफ कमर्स काठमाडाैं केन्द्रित थियो । संघीय संरचनाअनुरुप चेम्बरले सबै जिल्लामा शाखा विस्तार गर्ने योजनाअनुरुप अढाई महिनाअघि व्यवसायी सुरेशमान श्रेष्ठको अध्यक्षतामा मोरङ चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरका आगामी योजना, उद्योगी व्यवसायीका समस्यालगायतका विषयमा केन्द्रित रही किशोरसंगम दियालीले गरेको कुराकानी :
मोरङमा चेम्बर अफ कमर्स कहिले गठन भयो ?
नेपाल चेम्बर अफ कमर्स काठमाडौंमा मात्र केन्द्रित थियो । जिल्ला–जिल्लामा शाखाहरु थिएनन् । शाखाहरु नहुँदा जिल्लामा गतिविधि पनि भएनन् । केन्द्रीय कार्यसमितिले निर्णय नै गरेर शाखा विस्तार गरेपछि मोरङमा पनि यसको स्थापना भएको हो । मोरङमा ६ महिना पहिले तदर्थ समिति गठन गरी शाखा विस्तार भएको हो । करिब अढाई महिना पहिले भएको पहिलो साधारणसभाले मेरै अध्यक्षतामा कार्य समिति चयन भएको हो ।
विराटनगरमा उद्योगी व्यवसायीका पक्षमा काम गर्ने आधा दर्जन संस्था छन्, धेरै संस्थाको आवश्यकता किन पर्याे ?
उद्योगी व्यवसायीका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थ छन् । विषयगत संस्थाहरु पनि छन् । सबैका आफ्नै विद्यान र कार्य क्षेत्र हुन्छन् । चेम्बर अफ कमर्स उद्योगी व्यवसायीका क्षेत्रमा काम गर्ने मुलुककै जेठो संस्था हो । हाम्रो आफ्नै विधान र कार्यक्षेत्र छ । हामी मुख्यतः उद्योग, व्यपार र सेवा क्षेत्रमा काम गर्छौं । संगठित हुनु नराम्रो होइन । यसले अधिकार स्थापित गर्न सजिलो हुन्छ ।
मोरङ चेम्बर अफ कमर्समा कति फर्म, उद्योग र सेवा क्षेत्र आबद्ध छन् ?
यो भर्खरै स्थापना भएकाले आबद्धता बढाउने अभियानमा छौं । छोटै समयमा करिब ५० भन्दा बढी फर्म, उद्योग आबद्ध भइसकेका छन् ।
आगामी दिनमा मोरङ चेम्बर अफ कमर्सका गतिविधि कसरी अघि बढाउने सोच छ ?
जिल्लास्थित सबै संघ–संस्था तथा सरोकारवाला पक्षहरुसँग समन्वय, सहकार्य र साझेदारीका साथ काम गर्नेछौं । उद्योगी, व्यपारी तथा सेवा मुलक क्षेत्रका समस्या समाधानमा अग्रसर हुनेछौं ।
उद्योगी, व्यवसायी तथा सेवामुलक क्षेत्रका समस्याहरु के छन् ?
बैंकहरुले लिने ब्याजदरमा एकरुपता छैन । बैकहरुले गरेको सम्झौता अनुसारको व्याजदर लिँदैनन् । उनीहरुले वर्षेनी मनपरी ब्याजको दर बढाएर घाटामा पारिरहेका छन् । जसले गर्दा हाम्रो व्यपार व्यवसाय घाटामा जाने स्थिती छ । हामीले सेवा लिने विभिन्न कार्यालयहरुमा हुने ढिलासुस्ति, उद्योग व्यवसाय दर्ता झन्झटिलो प्रकृया पनि हाम्रा लागि ठूलै समस्या हुन् । त्यस्तै कडा कानुनको अभाबमा गैर कानुनी काम गर्ने व्यपारीका कारण सहि व्यवसायीलाई समस्य हुने गरेको छ । पहिले जस्तो लोडसेडिङ नभएपनि विना सुचना गरिने लोड सेडिङ, त्यसै गरी कर वृद्धिलेसमेत समस्या सिर्जना गरेको छ । सिमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीले पनि हामीलाई प्रतिष्पर्धामा कठिनाई भएको छ ।
अहिलेको संघिय, प्रादेशिक तथा स्थानीय सरकारबाट के अपेक्षा छ ? तपाईंहरुको योगदान के हुन्छ ?
मुख्य कुरा सरकारले उद्योग व्यवसायलाई बर्गीकरण गरी करको दायरा निर्धारण गरिदिनु पर्यो । स्वदेशी उद्योगका लागि आयात हुने कच्चा पदार्थमा विषेश छुटको व्यवस्था गरिनु पर्छ । नक्कली तथा गैर कानुनी उत्पादनलाई निरुत्साहित पार्न राज्य कडा बन्नु पर्दछ । कर चुहावट रोक्न सरकारले कडा कानुन निर्माण गरी निरुत्साहित गर्नुपर्छ । चोरी पैठारीलाई शुन्यमा झार्नु पर्छ । स्वदेशी उद्योग व्यवसाय तथा सेवा मुलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । बन्द हड्ताल हुन भएन । बैंकको ब्याजदरमा एक रुपता हुनु पर्छ । भर्खरै संघिय, पदेश र स्थानिय सरकारले गरेको चर्को कर बृद्धि घटाइनु पर्दछ । राज्यले कर लिने मात्र होइन प्र्रोत्साहन समेत हुनुपर्दछ । हामी सरकारलाई जहिले पनि सहयोग गर्न तयार छौं । विकास निर्माण देखी हरेक कुरामा सरकार सँग हातेमालो गर्न निजी क्षेत्र जहिल्यै तयार छ ।
अहिले लगानीको वातावरण बन्दै गएको हो ?
क्रमशः लगानीको वातावरण बन्दै गइरहेको हामीले महसुस गरेका छौं । विदेशी लगानीकर्ताहरु पनि आकर्षित हुँदै लगानी गर्न थालेको अवस्था छ । समग्रमा मुलुकमा यतिबेला लगानिको वातावरण राम्रो छ ।
प्रकाशित समय १८:२२ बजे
















