गृहपृष्ठ बेलकामा डेढ करोडको स्वास्थ्य चौकी भवन उद्घाटन

बेलकामा डेढ करोडको स्वास्थ्य चौकी भवन उद्घाटन

बेलका नगरपालिका- ९ मा स्वास्थ्य चौकीको १० कोठे भवन उद्घाटन गरिएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार सेवा केन्द्रमा निर्माण गरिएको भवनको उद्घाटन गरेका हुन् । एक करोड ४० लाख रुपैयाँ लागतमा बनेको उक्त भवनको उद्घाटन गर्दै मन्त्री घिमिरेले स्वास्थ्य सेवा विस्तारका लागि नगरपालिकालाई प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । खासगरी प्रसूति सेवालाई चुस्त बनाउन एउटा एम्बुलेन्स सहयोग गर्ने उनले घोषणा पनि गरे । स्वास्थ्य चौकीको भवन निर्माण भएसँगै बेलका नगरबासीले प्राथमिक उपचारका लागिसमेत सुनसरी र सप्तरी जानुपर्ने बाध्यता हटेको छ । नवनिर्मित दुई तले भवनमा ल्याब, सुरक्षित प्रसुति सेवा कक्ष, तालीम कक्षलगायत १० कोठा रहेको स्वास्थ्य चौकी प्रमुख उपेन्द्र चौधरीले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रमपछि बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरबासीलाई अत्यावश्यक सेवा प्रवाह गर्न बजेट अपुग भएको भन्दै मन्त्री घिमिरेमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्याबारे जानकारी गराउँदै उनले आवश्यक सहयोगको मागसहित ज्ञापनपत्र बुझाएका हुन् । नगरप्रमुख थापाले भने, ‘भवनमात्रै भएर सेवा चुस्त हुँदैन, हामीलाई चिकित्सक पनि दिनुपर्यो ।’ उनले एक वर्षे अवधिमा सामाजिक विकासअन्तर्गत गरेका कामबारे पनि मन्त्री घिमिरेलाई जानकारी गराए । भवन उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख दुनियालाल साहलगायत पनि उपस्थित थिए ।

यसैबीच रामपुर स्वास्थ्य चौकीलाई बेलका ९ का वडाध्यक्ष मोहन घिमिरेले ३२ इन्चको लिक्वीड इलेक्ट्रोनिक डिस्प्ले (एलईडी) सहयोग गरेका छन् । स्वास्थ्य चौकीको प्रतिक्षालयमा राख्न वडाध्यक्ष घिमिरेले व्यक्तिगत रुपमा एलईडी सहयोग गरेका हुन् ।

प्रतिक्षालयमा राखिने एलईडीमा चेतनामूलक भिडियो, वृत्तचित्र र स्वास्थ्यसँग सम्बन्धित सामाग्रि प्रसारण गर्दा आम नागरिकले विभिन्न खालका जानकारी पाउने वडा अध्यक्ष घिमिरेले बताए । ‘१ र ७ बाहेकका सबै वडाका नागरिकका लागि यो स्वास्थ्य चौकी सहज पहुँचमा छ,’ उनले भने, ‘उनीहरुले यहाँ केहीबेर कुर्नुपर्दा पनि समय खेर नजाओस्, स्वास्थ्यसम्बन्धी विभिन्न ज्ञान पाउन्, सचेत रहुन् भनेर मैले व्यक्तिगत रुपमा एलईडी सहयोग गरेको हुँ ।’

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु