गृहपृष्ठ सरकारी कार्यालय खुले, सेवाग्राही आएनन्
सरकारी कार्यालय खुले, सेवाग्राही आएनन्
दसैंका लागि बिदा भएका सरकारी कार्यालय आइतबारदेखि खुले पनि सेवाग्राही नआउँदा सुनसान छन् । अधिकांश कार्यालयमा आधाजसो कर्मचारी आईसकेका छन् । घर नजिक भएका कर्मचारी आइतबारदेखि नै कार्यालयमा हाजिर भए पनि सेवाग्राही भने फाट्टफुट्ट मात्र देखिन्छन् । बडा दसैंको बाह्रौँ दिनदेखि कार्यालय खुलाइएको छ । सरकारले नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले सरकारी कर्मचारीको दसैं बिदा कटौती गरे पनि सेवाग्राही नआउँदा बिदा कटौतीको नतिजना भने देखिएको छैन ।
मन्त्रालय, विभाग तथा जिल्ला कार्यालय, स्थानीय तह, वडा कार्यालय खुलेका छन् । दसैं नसकिँदै कर्मचारीलाई विभिन्न कार्यालयमा खटाइए पनि कार्यालयमा भने सेवाग्राही नआउँदा बिदा कटौतिको औचित्य नै पुष्टि हुन नसकेको कर्मचारीहरुले बताएका छन् ।
नागरिकता र राहदानी बनाउनेको भीँड लाग्ने देशैभरका प्रशासन कार्यालय सुनसान छन् । एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी २ सय बढी नागरिकता बनाउँदै आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही दुई चार जनामात्र आएका थिए ।
दसैंमा गणतन्त्रअघि १५ दिन बिदा हुँदै आएको थियो । पछि बिदा कटौति गर्दै ५ दिन सार्वजनिक बिदा दिन थालिएको हो । सोहीअनुसार आइतबारदेखि सबै कर्मचारी कार्यालय आइपुग्नुपर्ने हो । तर, अधिकांश सरकारी कार्यालयमा आधाजति कर्मचारी अनुपस्थित रहेको पाइयो । मंगलबार दसैंपछि कार्यालय खुलेको तेस्रो दिनसम्म पनि अधिकांश सरकारी कार्यालय सुनसान देखिएका छन् । सरकारले नै दिएको बिदाले पनि नपुगेर कर्मचारीहरु आफूखुसी विदा थपेर बस्ने गरेका छन् । कतिपय कार्मचारी सेवाग्राही नआएपछि पुनः विदामा बसेका अधिकारीहरु नै बताउँछन् ।
सरकारले दिएको बिदा कम भएकाले कर्मचारीहरु मंगलबारसम्म पनि कार्यालय उपस्थित हुन नसकेको महालेखा परीक्षकको कार्यालयका लेखापरीक्षण अधिकृत बनमाली पौडेलले बताए । उनले भने ‘दशमीको पर्सीपल्ट कार्यालय खुल्ने हुँदा, घर टाढा हुने कर्मचारीहरु बिजया दशमीको दिन नै कार्यलय क्षेत्र फर्कनुपर्ने अवस्था आयो, नारिकलाई सेवा दिन धेर–थोर कर्मचारी आए पनि दसैं नसकिएकोले उनीहरु सेवा लिन आएका छैनन्् ।’
मुलुकको प्रमुख प्रसाशनिक केन्द्र सिंहदरबार पनि मंगलबार सुनसान देखियो । कोजाग्रत पूर्णिमा सकिएपछिमात्र कार्यालयमा सबै कर्मचारी आउने र सेवाग्राहीको भीड लाग्ने विगतको अनुभव रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ बताउँछन् । १ सय ९ जना कर्मचारी रहेको स्वास्थ्य मन्त्रालयमा मंगलबार करिब ५० जना कर्मचारी मात्रै उपस्थित थिए ।
आइतबार र सोमबार अझै कम कर्मचारी आएका थिए भने सेवाग्राही आठ दश जना मात्र आएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने ‘कोजाग्रत पूर्णिमासम्म नागरिकहरु टिकाटाला र अरु काममा व्यस्त हुने भएकाले कार्यालयमा सेवा लिन आउने गरेका छैनन्, बुधबारसम्म दसैं रहेकाले विहीबारबाट कार्यालयमा चाप बढ्ने अनुमान छ ।’
प्रकाशित समय १५:२२ बजे

















