गृहपृष्ठ नेकपा विवाद : एक्लिए नेपाल
नेकपा विवाद : एक्लिए नेपाल
स्थायी कमिटी बैठकमा ओली र प्रचण्डविरुद्ध बोल्ने तयारी
नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल एक्लिएका छन् । उनले राखेको अहसमतिपत्रलाई थामथुम पार्दै पार्टीको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयनको निर्णय सदर गरेपछि उनी एक्लिएको प्रष्ट देखिएको छ । वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा साउन ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गरेको थियो ।
चयन प्रक्रियामा वरिष्ठ नेता नेपालले असहमति जनाउँदै पार्टीमा लिखित ‘फरक मत’ राखेका थिए । फरक मत राखेको ३ सातापछि २ दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकमा उनको असहमतिलाई साथ दिने कुनै नेता नभएपछि पुरानै निर्णयले निरन्तता पाएको नेताहरुले बताएका छन् ।
नेकपाको केन्द्रीय सचिवालय ९ सदस्यीय छ । जसमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल , रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि सचिवालय सदस्य छन् । यीमध्ये नेता नेपालबाहेक अन्य नेता अध्यक्षद्वय ओली र प्रचण्ड गुटका छन् ।
पार्टीभित्र आफ्नो सुरक्षित स्पेस खोजिरहेका नारायणकाजी श्रेष्ठलेसमेत साथ नदिएपछि नेता नेपालको असहमतिमा पुनर्विचार नभएको नेताहरुले बताएका छन् । पार्टीको प्रवक्ताबाट राजीनामा दिएका श्रेष्ठले यसअघि प्रदेश पदाधिकारी चयन प्रक्रियामा असहमति जनाएका थिए । तर, आइतबार र सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेता नेपालको असहमतिपत्रलाई खुलेर समर्थन नगरेपछि नेता नेपाल एक्लो बनेका नेताहरु बताउँछन् । पार्टीको पोलिटव्यूरो र केन्द्रीय सदस्यमा आफूनिटकका नेताहरु रहे पनि केन्द्रीय सचिवालयमा भने उनलाई समर्थन गर्ने नेता छैनन् । यसैले ‘जालझेलपूर्ण रूपमा प्रदेश पदाधिकारी चयनको निर्णय लिइएको र उक्त निर्णयले आफू स्तब्ध भएको’ भन्दै महासचिवमार्फत् पार्टीमा दर्ता लिखित असहमतिपत्रको पक्षमा बोल्ने नेताहरु भएनन् । सचिवालय बैठकमा नेता नेपालले उठाएका असहमतिपत्रबारे छलफल हुने क्रममा उनको पक्षमा भन्दा उनलाई थामथुम पार्ने धेरै भएपछि नेता नेपालले असन्तुष्टि राखेको निर्णय नै सदर भएको बताइन्छ ।
विवाद चर्काउनेभन्दा मिलाउनुपर्ने भन्दै केन्द्रीय सचिवालय सदस्यहरुले नेता नेपालको असहमतिमाथि वेवास्था गरेका थिए । यद्यपि, पार्टीको असन्तुष्टि सम्बोधन गर्न मध्यमार्गी निर्णय लिइएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘आगामी दिनमा पार्टी निर्णय लिँदा सामूहिक छलफल गर्ने विषयमा कुराकानी भयो तर पहिले गरेको प्रदेश पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) चयनको निर्णय बैठकले सदर गरेको छ,’ श्रेष्ठले भने ।
स्थायी किमिटी बैठकमा नेपाल पक्ष चर्कने
९ सदस्यीय केन्द्र्रीय सचिवालय बैठकमा एक्लिए पनि नेता नेपालपक्षले स्थायी कमिटी बैठकमा यसबारे चर्काे आवाज उठाउने देखिएको छ । पार्टीका तल्ला कमिटी एकीकरण, जनवर्गीय संगठनको एकता, नेताहरूको कार्र्यविभाजनलगायत एजेन्डामा छलफल गर्न कार्तिक १२ र १३ मा स्थायी कमिटी बैठक डाकिएको छ । स्थायी कमिटीमा नेता नेपाल पक्षको बलियो पकड रहेकोले उनी निकट नेताहरुले नेतृत्वको चर्काे आलोचना गर्ने तयारी गरेका छन् । नेता नेपाल गुटमा भीम रावल, अष्टलक्ष्मी शाक्य, भीमप्रसाद आचार्य, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत छन् ।
पूर्वएमालेका घनश्याम भुसाल, बेदुराम भुसाल योगेश भट्टराईलगायत नेता नेपाल निकट छन् । स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन्, ‘पार्टी एकताको झण्डै आधा वर्ष हुँदासमेत प्रदेश कमिटीदेखि तलका कमिटी समायोजन हुन नसकेको, केन्द्रीय नेताहरुको कार्यविभाजन नभएको, प्रदेश पदाधिकारी चयनलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउने छौँ,’ भुसालले भने ।
यसबाहेक ओली र प्रचण्ड निटकका नेताहरुले भने नेतृत्वको प्रतिरक्षा गर्ने तयारी गरेका छन् । तत्कालीन माओवादी केन्द्रमा नेताहरू वर्षमान पुन, शक्ति बस्नेतलगायत गुटको हिसाबले अहिले अध्यक्ष ओलीसँग निकट थिए । अहिले ओली निकट बनेका उनीहरुले समेत नेतृत्वको बचाउ गर्ने तयारी गरेका छन् । यसबाहेक ओली गुटमा रहेका महासचिव पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सत्यनारायण मण्डल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले ओलीको बचाउ गर्नेछन् ।
नेकपामा अध्यक्ष दाहाल गुटमा जनार्दन शर्मा, पुन, चक्रपाणि खनाल, बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेललगायत छन् । बादल गुटमा रहेका देव गुरुङ, फम्फा भुसाल, अमृता थापामगरलगायतले पनि प्रचण्डलाई साथ दिनेछन् । स्थायी कमिटी बैठकको थप एजेन्डा तय गर्न सचिवालयको अर्काे बैठक बुधबार बस्ने छ ।
प्रकाशित समय १६:२५ बजे
















