गृहपृष्ठ विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका

विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका

bhaitika at pokhara (1)

नेपाली समाजमा आरोप छ, हामी विदेशी संस्कृति बढी मन पराउँछौँ । र त्यसैमा रमाउँछौँ । हुन पनि पछिल्लो समय विभिन्न कतिपय विदेशी संस्कारहरु हाम्रो समाजमा अभिन्न बनिसकेका छन् । बरू, हाम्रा मौलिक पहिचान बोकेका संस्कार र संस्कृतिहरु ओझेलिँदै गएको भान हुन्छ । तर, जब हाम्रो संस्कृतिमा विदेशीहरु पनि मन खोलेर रमाउँछन् । त्यतिबेला भने हरेक पर्व र संस्कृतिहरु सकेसम्म व्यापक भइदिएकै राम्रो भन्ने महसुस हुन्छ । हुन पनि हो, आफ्नो पहिचान कायम राख्दै अरुको संस्कृतिमा रमाउनु सामाजिक दायित्व हो ।

पोखरा यस्तो ठाउँ हो, जहाँ हरेक स्थानीय पर्व वा उत्सवहरुमा विदेशीहरुको सहभागिता भएकै हुन्छ । चाहे त्यो असार १५ को धान दिवस होस् या दसैं तिहारजस्ता पर्वहरु । सबैमा विदेशी पर्यटकहरु सहभागी हुन्छन् ।

मंगलबार पोखरामा आयोजित भाइटीका महोत्सवको माहौल पनि त्यस्तै थियो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न ६ देशका ३० जना विदेशी पर्यटकले निधारमा भाइटीका लगाए, गलामा सयपत्री र मखमलीको माला पहिरिए ।

लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा पश्चिमाञ्चल होटल संघले आयोजना गरेको महोत्सवमा अमेरिका, जापान, जर्मनी, बेलायत, नेदरल्याण्डलगायत देशका पर्यटकहरु सहभागी भएको संघका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए । उनका अनुसार रेन्वो चिल्ड्रेनका २० जना बहिनीहरुले पर्यटकहरुलाई दाजुको रुपमा भाइटीका र माला लगाइदिएका थिए ।

यस वर्षको भाइटीका महोत्सवमा सहभागी भएका केही पर्यटकहरु पुनः दोहोराएर आएको उपाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘अघिल्लो वर्ष आउनुभएका विदेशी पर्यटकहरु यो वर्ष पनि आउनुभएको थियो । उहाँहरुमा तिहार लगायतका नेपाली पर्वहरुप्रति असाध्यै श्रद्धा र प्रेम रहेको पाएँ ।’

नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको पनि प्रवद्र्धन होस् भन्ने उद्देश्यले १३ वर्षदेखि महोत्सवलाई निरन्तरता दिँदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली संस्कृतिको पहिचानका लागि महोत्सवले थप टेवा पुग्ने विश्वास लिएका छौँ,’ उनले भने । नेपाली परम्पराअनुसार पर्यटकलाई देउसीभैलो खेल्ने र सेलरोटी लगायतका अन्य परिकारसमेत खुवाइएको थियो ।

महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्दै आएको छ । टेम्पल ट्रि रिसोर्ट र बटरफ्लाई चाइल्ड केयर सेन्टर सहयोगीको रुपमा रहेका छन् ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु