गृहपृष्ठ तनहुँको मादी नदीमा कृतिम ताल निर्माण गरिँदै
तनहुँको मादी नदीमा कृतिम ताल निर्माण गरिँदै
व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो ।
सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुनेछ ।’
नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ ।
नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।
‘मादी नदीमा ताल बनाउन सकिए डुंगा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवर्दर्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।’
काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब छ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५ सय क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ ।
प्रथम चौमासिक खर्च २४ करोड रुपैयाँ
नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ को प्रथम चौमासिकसम्म २४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । ३१ औँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्म चालु र पुँजिगततर्फ गरी २४ करोड ८९ लाख १८ हजार ५९९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
चालुतर्फ १८ करोड ३४ लाख ५६ हजार ९९५ रुपैयाँ र पूँजीगततर्फ छ करोड ५४ लाख ६१ हजार ६०४ रुपैयाँ खर्च भएको नगरपालिकाका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए ।
चालु आवको कूल बजेट एक अर्ब ३८ करोड तीन लाख २५ हजार रुपैयाँमध्ये चालुतर्फ ७७ करोड ८६ लाख ७९ हजार रुपैयाँ र पुँजिगततर्फ ६० करोड १६ लाख ४६ हजार रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ ।
प्रथम चौमासिकमा चालुतर्फ अनुमानको तुलनामा २३.५६ प्रतिशत र पुँजिगततर्फ अनुमानको तुलनामा १०.८८ प्रतिशतले बढी खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रथम चौमासिकसम्म ४० करोड १३ लाख ५७ हजार ५६४ रुपैयाँ आम्दानी गरेको छ ।
बाह्यतर्फ ३३ करोड १९ लाख ६९ हजार ५६२ रुपैयाँ र आन्तरिकतर्फ ६ करोड ९३ लाख ८८ हजार २ सय रुपैयाँ आम्दानी भएको छ । चालु आवमा नगरपालिकाले बाह्य र आन्तरिक गरी आयतर्फ एक अर्ब ३८ करोड तीन लाख २५ हजार रुपैयाँ अनुमान गरेको छ । (कृष्ण न्यौपाने/रासस)
प्रकाशित समय ०९:३० बजे
















