गृहपृष्ठ बोयर जातका बाख्राबाट मनग्य आम्दानी

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

म्याग्दीस्थित बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै अाएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्ट्रेलियाबाट बोयर जातका दुईवटा पाठी र दुईवटा बाेका ल्याएका हुन् ।

‘बोयर जातका बाख्रा खरिद गर्न नौ लाख खर्च भएको छ,’ उनले भने । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । रिजालले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै अाएका छन् ।

‘पचासदेखि ७५ प्रतिशतसम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब शतप्रतिशत बोयर उत्पादन हुन्छ’ रिजालले भने । अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय कृषक बोयर बाख्रापालनतर्फ आकर्षित भएका छन् । 

जागिर त्यागेर गाउँमै बाख्रापालन गरेका रिजालले शुरुवातमा नौवटा बाख्राबाट व्यवसाय शुरु गरेका हुन् । रिजालद्वारा सञ्चालित धौलागिरि व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ४३ वटा बाख्रा रहेका छन् । वार्षिकरुपमा रु चार लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका रिजालले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने लक्ष्य लिएकाे बताए ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । कृषकले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको रिजाल बताउछन् ।

उनले माउ बाख्रा खरिद, खोर निर्माणलगायतमा २० लाखभन्दा बढी लगानी गरिसकेकाे बताए । बाख्रापालनका लागि उनले करीब ३० रोपनी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा रायो, खन्यु, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतका घाँसखेती गरेका छन् । उनलार्इ जिल्ला पशु सेवा कार्यालयले आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ । 

बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

(रासस) 

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु