गृहपृष्ठ पोखराका होटलमा ६० प्रतिशत अग्रिम बुकिङ

पोखराका होटलमा ६० प्रतिशत अग्रिम बुकिङ

महोत्सवको अवसरमा कसैले बढी मूल्य लिए कार्बाही गर्ने प्रशासनको चेतावनी

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा करिब ६० प्रतिशत होटल अग्रिम बुकिङ भएका छन् । डिसेम्बर ३०, ३१ र जनवरी १ तारिखसम्मको लागि हाल ६० प्रतिशत होटलको रुमहरु अग्रिम बुकिङ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

अधिकांश नेपाली पर्यटकहरुले अन्तिम समयमै बुकिङ गर्ने गरेको उनले जनाए । अंग्रेजी नयाँ वर्षको अवसरमा शनिबारसम्म पोखराका होटलको करिब ४० प्रतिशत जसो अकुपेन्सि रहेको संघका अध्यक्ष तुलाचनले बताए । उनका अनुसार पोखरामा तेश्रो मुलुकका पर्यटकको होटल अकुपेन्सि करिब १५ प्रतिशत छ ।

विदेशी पर्यटकसहित भारतीय र आन्तरिक पर्यटक गरी हाल पोखरामा ४० प्रतिशत होटल अकुपेन्सि रहेको अध्यक्ष तुलाचनले जनाए ।

उनका अनुसार पोखरामा हाल दैनिक एक रातमा २० हजार पर्यटकहरुलाई राख्न सकिन्छ । हाल करिब पयर्यटकस्तरिय ४ सय होटल संघमा दर्ता भएका छन् भने एक सयको हाराहारीमा दर्ता बाहिर छन । १० हजार रुम रहेको पोखरामा २० हजार वेड रहेको उनले बताए ।

पोखराका होटलमा करिब एक खर्ब लगानी भएको व्यवसायीको दाबी छ । अगेंजी नयाँ वर्षको अवसरमा पोखरामा जारी सडक महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुलाई रेष्टुरेण्टको बिभिन्न खानामा १० प्रतिशतसम्म छुटको व्याबस्था गरेको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मूल्य बृद्धि हुने बताएका थिए ।

यसैबीच, अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा जारी सडक महोत्सवको अवसरमा व्यवसायीहरुले चर्को मूल्य लिने गरेको आरोप लागेको समयमा यस पटक पनि कसैले बढी मूल्य लिएमा प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कुनै मेला वा महोत्सवको अवसर पारी कसैले तोकेको मूल्य भन्दा एक रुपैयाँ पनि बढी लिएको भेटिएमा कार्बाही गर्ने चेतावनी दिएका हुन् । ‘कुनै मेला र महोत्सवको अवसरमा कसैले मौका छोपेर आम उपभोक्ता तथा पर्यटकहरुलाई ठग्ने नियतले बढी शुल्क लिएको प्रमाण भेटिएमा हामी कारवाही गरी छाड्छौं,’ उनले भने ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु