गृहपृष्ठ पोखरा महानगर : भवन र सटर भाडाको करोडौं रकम हिनामिना
पोखरा महानगर : भवन र सटर भाडाको करोडौं रकम हिनामिना
कतै वर्षौंदेखि भाडा उठाइएको छैन, कतै बढ्नुपर्ने भाडा घटिरहेको छ
पोखरा महानगरपालिकाले व्यापारिक प्रायोजनका लागि महानगरका विभिन्न मुख्य चोकमा निर्माण गरेका व्यावसायिक भवन र सटरबाट वार्षिक करोडौं रकम हिनामिना हुने गरेको पाइएको छ । महानगरका कर्मचारीको मिलेमतोमा वर्षेनी करोडौं रकम हिनामिना हुने गरेको देखिएको हो । महानगरले बनाएका त्यस्ता सटर तथा भवन कतै संस्था र कतै व्यक्तिले भाडामा लिएका छन् । यस्ता भवन र सटर सिर्जनाचोक, महेन्द्रपुल, राष्ट्रबैंक चोक, मालपोत कार्यालय र लेखनाथमा छन् । भाडामा लिनृ व्यक्ति वा संस्थाले भाडावापत निश्चित राजस्व महानगरमा बुझाउनुपर्ने हुन्छ । तर, ती सटर र भवनबाट तोकिएको भाडा महानगरले केही वर्षअघिबाट नउठाएको तथा कतिपय ठाउँमा अस्वाभाविक ढंगले भाडा घटेको पाइएको छ ।
शुक्रबार कार्यालय समयमा एक व्यापारी सटरको भाडा तिर्न पोखरा महानगरपालिकाको कार्यालय पुगे । ‘मेरो सिर्जना चोकमा पसल भएको भाडा तिर्न आएको, हेर्दिनुस् त,’ कर्मचारीलाई उनले आग्रह गर्दै भने । २०७१ सालदेखि नै सटर प्रयोग गर्दै आएको प्रमाण उनले बोकेका थिए । यसअघिका महानगरले नै काटेको बिल उनीसँग थियो ।
तर, महानगरको राजस्व शाखामा उनको रसिद र महानगरले राखेको तथ्यांक जुधाउँदा उनले अहिलेसम्म भाडा नतिरेको देखियो । महानगरका कर्मचारीले त्यहीँ चलाखी गरिहाले । उनीहरुले पहिल्यैदेखिको भाडा इन्ट्री एकैदिन (शुक्रबार) गरिदिए । सेवाग्राहीले माघ महिनाको भाडा बुझाउन बाँकी भएपछि कर्मचारीले भने, ‘छिट्टै ल्याउनुस् है यहाँ इन्ट्री गर्नुपर्छ ।’ यो महानगरमा देखिएको एउटा प्रतिनिधि घटना मात्रै हो ।
साविक लेखनाथ नगरपालिकामा बनेको ५ कोठे भवन कसमस कम्प्युटरले २०७१ सालदेखि २०७५ मंसिरसम्म भाडा सम्झौता गरेको देखिन्छ । उक्त सम्झौताअनुसार कसमसले २०७३ सम्म ३७ हजार भाडा तिरेको छ भने त्यसपछि सम्झौता अन्त्य हुँदासम्म ४१ हजार रुपैयाँ मासिक तिर्दै आएको देखिन्छ । उक्त संस्थाको सम्झौता अवधि सकिसकेको छ । तर पनि भवन प्रयोग गरिरहेको पाइएको छ । ‘उहाँले सम्झौता सकेर पनि बिनाभाडा प्रयोग गरिरहनु भएको छ,’ महानगरका एक कर्मचारीले भने । कसमसबाट महानगरले अहिलेसम्म ३ लाख १५ हजार रुपैयाँ उठाउनै बाँकी छ ।
‘कतिपय सटरबाट भाडा कति उठेको भन्नेबारे महानगर नै बेखबर छ । किन त्यस्तो भयो भन्नेबारे पनि थाहा छैन,’ सटर र भवनका भाडाबारे महानगर राजस्व शाखाका एक अधिकारीले भने, ‘कुनै सटरमा त पहिलेभन्दा तीन चौथाई भाडा घटेको छ ।’ २०७४ सालमा आएर धेरै ठाउँका सटरको भाडादर घट्दै आएको देखिएको उनले बताए ।
कास्की मालपोत कार्यालय अगाडि महानगरको १० कोठे सटर छ । २०७२ देखि ०७४ सालसम्म महानगरले ती सटरको भाडादर मासिक २६ हजार रुपैयाँ हाराहारीमा तोकेको छ । तर, ०७५ माघमा आउँदा महानगरले ६ हजार भाडा तोकेको देखिएको छ । भाडा बढ्नुपर्नेमा उल्टै घटेको देखिएको छ ।
महानगरका सबैभन्दा धेरै महेन्द्रपुलमा ३२ वटा सटर छ । ती ठाउँमा क, ख, ग ब्लक गरेर तह छुट्याएको छ । तहअनुसार ७ हजारदेखि ६१ हजार रुपैयाँसम्म महानगरले भाडादर तोकेको छ । महानगरमा भएको तथ्यांक अनुसार ४१ महिनाअघिबाट व्यापारीले ती सटर प्रयोग गर्दै आइरहेका छन् ।
‘हाम्रोमा भएको तथ्यांक अनुसार ‘ग’ ब्लकमा दीपक परियारले मात्रै चालु वर्षको मसिंरसम्मको सबै भाडा तिरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘गमालदिन मियाको नाममा रहेको क ब्लक १ नम्बर सटरबाट सबैभन्दा बढी १४ लाख उठ्न बाँकी देखिएको छ ।’ महानगरको तथ्यांक अनुसार महेन्द्रपुलका सटरबाट ५ लाखदेखि ७ लाख रुपैयाँसम्म उठ्न बाँकी छ ।
राष्ट्रबैंक भवन अगाडि पनि महानगरले १० वटा सटर बनाएको छ । ती सटरको भाडा महानगरले १२ हजारदेखि ३५ हजार रुपैयाँसम्म तोकेको पाइएको छ । तोरण मल्ल ठकुरीको नाममा रहेको १ नम्बर सटरले सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको महानगरकै अर्का १ कर्मचारीले सुनाए । उनले भने, ‘ठकुरीको नाममा रहेको सटरबाट महानगरले १० लाख १५ हजार रुपैयाँ ल्याउन बाँकी देखिन्छ ।’ ठकुरीले उक्त सटर ४० महिनादेखि प्रयोग गर्दै आएको देखिन्छ । यसबाहेक राष्ट्रबैंक भवनअगाडिका सटरबाट कसैले ७ लाख तिरेका छैनन् भने कसैले ५ लाख नतिरेको पाइएको छ ।
महानगरले सिर्जनाचोकमा तीन तले भवन बनाएको छ । व्यापारिक प्रयोजनको उक्त भवन जस्ट इन टाइम कन्स्ट्रक्सनले भाडामा लिएको छ । फागुनसम्म ३८ लाख बैंक ग्यारेन्टी भएको उक्त भवन महानगरले जफत गर्नुपर्ने हो तर त्यसो गरेको पनि देखिँदैन । उक्त भवनबाट मात्रै महानगरले १ करोडभन्दा बढी भाडा उठाउन बाँकी छ ।
महानगरले भाडावापत दिएको सटरबाट मात्रै १ करोड ९४ लाख रुपैयाँ उठाउन बाँकी देखिएको छ । पहिले टेन्डर दिँदा नै महानगरकै कर्मचारीको मिलेमतोमा हिनामिना गरिएको आशंका छ । ‘२६ हजार रुपैयाँ भाडा अहिले बढ्नुपर्नेमा झनै घटेको छ । त्यसमाथि उनीहरुले तिर्नुपर्ने भाडा पनि तिरेका छैनन्,’ स्रोतले भन्यो ।
महानगरको सटर र भवनको भाडा र त्यसबाट उठ्नुपर्ने राजस्वबारे बुझ्दा महानगर राजस्व शाखा प्रमुख रोमनाथ उपाध्यायले सबैबाट रकम उठ्न ताकेता भइरहेको जानकारी दिए । उनले गडबडी भएको देखिए तत्काल छानबिन गर्ने बताए ।
प्रकाशित समय १५:४७ बजे

















