गृहपृष्ठ कार्तिकबाट रुपन्देहीमा टीपीएल, विजेतालाई ३ लाख रुपैयाँ

कार्तिकबाट रुपन्देहीमा टीपीएल, विजेतालाई ३ लाख रुपैयाँ

तिलोत्तमा प्रिमियर लिग (टीपीएल) अञ्चल स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी कार्तिकमा हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति रुपन्देहीको आयोजनामा हुने प्रतियोगिता कार्तिक २६ देखि मंसिर ८ गतेसम्म संचालन हुने भएको हो ।

प्रतियोगितामा साविकको लुम्बिनी अञ्चलबाट ६ जिल्लाका १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । शुक्रबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएअनुसार प्रतियोगितामा सहभागि हुन साउन ११ देखि ३१ गतेसम्म अक्सनमा आउने खेलाडीका लागि आवेदन खुलाइनेछ ।

प्रतियोगितामा प्रत्येक टिमले १५ जना खेलाडी खेलाउन पाउनेछन । त्यसमा पनि २ जना खेलाडी स्थानीय जिल्लाको विद्यालय तहको अनिवार्य हुनुपर्नेछ भने एक जना मार्की र १ जना राष्ट्रिय स्तरको खेलाडी हुनेछन् ।

त्यस्तै अन्य ११ जना खेलाडी असोज ३ गते हुने अक्सनमार्फत टिमले छनोट गर्ने तिलोत्तमा क्रिकेट विकास समितिका प्रमुख कार्यकारी अधिकृत तथा प्रतियोगिताका खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट वलर, फेयर प्ले अवार्ड, ईमर्जिङ प्लेयर, फास्टेष्ट ५०, फास्टेष्ट १०० लगायतका विधामा पनि पुरस्कार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले तिलोत्तमा क्रिकेट विकास समितिले क्रिकेट खेलको विकासका लागि गरेको प्रयासको प्रशंसा गरे । मल्लले गत बर्ष सम्पन्न पहिलो तिलोत्तमा प्रिमियर लिगले यस क्षेत्रका केही उत्कृष्ट खेलाडी पहिचानमा ल्याएको बताउँदै कतिपय खेलाडी विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरका खेलहरुमा छनोट भएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्यूतराज ढुंगानाले बताए ।

प्रकाशित समय ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु