गृहपृष्ठ बुद्ध जन्मस्थल लुम्बिनीमा बढ्यो रौनक (फोटो फिचर)
बुद्ध जन्मस्थल लुम्बिनीमा बढ्यो रौनक (फोटो फिचर)
४० वर्षमा पूरा नभएको गुरुयोजना ३ वर्षमा सक्ने लक्ष्य
विश्व सम्पाद सूचिमा सुचिकृत महामानव भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चलहलहल बढेको छ । खासगरी विदाको दिन, शनिबार लुम्बनीमा ठूलै भीडभाड हुने गरेको छ ।
सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार उक्त अवधिमा लुम्बिनी भ्रमण गर्ने नेपालीको संख्या मात्र आठ लाख ९२ हजार ३६१ छ ।
यस्तै, एक लाख ३२ हजार १८२ भारतीय तथा एक लाख २३ हजार ९३९ तेस्रो मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषका निमित्त सदस्य सचिव इ. सरोज भट्टरार्इले जानकारी दिए । उनका अनुसार हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ ।

भट्टराइले भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा बढोत्तरी भएको जानकारी दिए । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने उनको दावी छ ।
लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको छ । विश्व सम्पदामा परेको गौतम बुद्धको जन्मस्थान लुम्बिनीको बाँकी रहेको कार्य सम्पन्न गर्न एकै पटक ग्लोबल टेन्डर गर्ने तयारी गरिएको छ । विगत ४० बर्ष देखि पुरा हुन नसकेको गुरुयोजना अबको तीन वर्षमा पूरा गर्ने गरी कार्य अगाडि बढाइएको हो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव तथा योजना अधिकृत भट्टराईले संघीय सरकार, मन्त्रालयलबाट तीन बर्षमा सम्पन्न गर्ने गरी कार्य अघि बढाउन पत्र प्राप्त भएकोले सोही अनुसार गुरुयोजनाका बाँकी कार्य पूरा गर्न लागि एकै पटक सबै टेन्डर आह्वान गर्ने तयारी गरिएको जानकारी दिए ।

मन्त्रालयबाट स्वीकृत प्राप्त भएको पत्र गत आईतबार मात्रै लुम्बिनी विकास कोषले प्राप्त गरको उनले जानकारी दिए । तीन बर्षमा बाँकी रहेको २५ प्रतिशत कार्य पूरा गर्न दबाब बढेका कारण सोही अनुसार कार्य अगाडी बढाइएको भट्टराईले जानकारी दिए ।
बाँकी रहेको २५ प्रतिशत कार्य सम्पन्न गर्न ६ अर्व २० करोड लाग्ने कोषको अनुमान छ । तर यो फाईनल स्टमेट भने नभएको बताइएको छ । भट्टराईका अनुसार फाईनल इस्टमेटपछि यसको लागत यकिन हुनेछ ।
सन् १९७२ देखि गुरुयोजानको कार्य अगाडि बढेको थियो । वि.स. २०४२ सालमा लुम्बिनी विकास कोष स्थापनापछि हालसम्म कोषले काम गर्दै आएको छ । गुरुयोजना निर्माणको लागि ११ सय ५५ विघा जग्गा अधिग्रहण गरिएको थियो ।
योजना निर्माणका लागि हालसम्म करिव ८ अर्व ६९ लाख ३० हजार खर्च भइसकेको छ । जसमा जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साँढे २ अर्व रुपैयाँ र विभिन्न देशले बनाएका बौद्ध गुम्बाहरुको निर्माणमा साँढे ५ अर्व रुपैयाँ खर्च भएको छ ।











प्रकाशित समय १५:५७ बजे
















