गृहपृष्ठ महिला आत्मनिर्भर भएमात्रै समृद्धि : खानेपानीमन्त्री

महिला आत्मनिर्भर भएमात्रै समृद्धि : खानेपानीमन्त्री

beena-magar-newskarobar

खानेपानीमन्त्री वीना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाईकन मुलुकको समृद्धि हुन नसक्ने बताएकी छन् । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामग्री उत्पादनसम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएरमात्रै समृद्धि सम्भव हुने बताइन् ।

उनले महिलालाई सिकाइने  सीप र कलाले घरेलु  उत्पादनमा टेवा पुग्ने भएकाले देशको विकासमा समेत योगदान हुने बताइन् । उनले भनिन्, ‘यस क्षेत्रका महिला आर्थिक रूपमा कमजोर छन् । मजदुरी गर्न छिमेकी देश भारत जानुपर्ने बाध्यता छ । यसको विकल्पमा यस किसिमको तालिमले महिलालाई घरमै बसी–बसी आत्मनिर्भर बनाउँछ ।’

कार्यक्रममा महिला उद्यमी महासंघकी संयोजक देविका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसर रहेको बताउँदै यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताइन् । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले महिलाको सीप विकास तालिमका लागि केन्द्रका तर्फबाट  सधैं सहयोग गर्ने बताए ।

कञ्चनपुरमा रहेका करिब सयवटा  प्रगतिशील महिला समूहका हजारौं महिला लाभान्वित हुने  गरी आयोजना गरिएको तालिमको सह–आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेको छ । १५ दिनसम्म सञ्चालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु