गृहपृष्ठ कर्णाली बदल्ने साहस लिनुपर्छ : नवराज रावत
कर्णाली बदल्ने साहस लिनुपर्छ : नवराज रावत
कर्णाली प्रदेशलाई सधैँ गरिब भनिरहँदा यसलाई बदल्ने साहस लिनुपर्ने सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद नवराज रावतले बताएका छन् ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन तथा दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्णाली विकासका दृष्टिले असंतृप्त भएकाले यहाँ रातारात विकास हुने पनि उनले बताए । उनले भने, ‘यहाँ विकासको मूल फुटाउन सकिन्छ तर यसका लागि राजनीतिक ईच्छाशक्ति चाहिन्छ ।’
स्रोत र साधनले भरिपूर्ण कर्णाली प्रदेशलाई बदल्ने साहस लिनु आवश्यक भएकोसमेत सांसद रावतले बताए । उनले थपे, ‘मैले निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गरेको छु । चुनाबताका आगामी जेठ १५ गते आउने बजेटमा पश्चिम सुर्खेतको बाटो संघीय बजेटमा पर्नेछ भनेर बोलेको थिएँ । त्यो पूरा गरेको छु । अर्को कुरा, काँक्रेविहारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बाचा पनि पूरा भएको छ ।’
सुर्खेतमा विद्युतीकरणका लागि संघीय संसदमा समेत बोलेको उनले बताए । उनले भने, ‘विद्युत् र सुकुम्बासी तथा बाढीपीडितहरुको समस्या समाधानका लागि समेत पहल गरेको छु ।’ जनताको मुहारमा खुशी ल्याउनुनै दसैंको शुभकामना भएको सांसद रावतले बताए ।
प्रकाशित समय १९:४७ बजे
















